जब–जब चुनाव नजिकिन्छ, सुनसरीको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ चर्चाको केन्द्रमा रहन्छ।
यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चाखलाग्दो बनाइदिने पात्र हुन् — कांग्रेस नेता विजयकुमार गच्छदार।
प्रतिनिधिसभा र संविधानसभा गरी अहिलेसम्म ६ पटक निर्वाचित भइसकेका, विभिन्न समयमा गरी १८ पटक मन्त्री बनेको तथ्यांक उनको 'उपलब्धिपूर्ण राजनीतिक यात्रा' का सूचक हुन्।
राजनीतिमा उनको छवि भने त्यति संग्लो मानिन्न। ललिता निवासका रूपमा परिचित प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोग लागेपछि उनको छवि थप धमिलो भयो। विशेष अदालतले नीतिगत निर्णय भन्दै उनलाई सफाइ दिए पनि अहिले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
२०४६ को राजनीतिक परिवर्तनपछि लामो समय सत्ता राजनीतिका सदाबहार खेलाडी बनेका गच्छदार यसपटक पनि सुनसरी-३ को चुनावी परीक्षामा सामेल छन्। तर लगातार आठौं पटक चुनावी मैदानमा ओर्लँदा उनीसँग पहिलेजस्तो सुखद विगतको साथ छैन।
२०७९ को निर्वाचन लड्ने बेलासम्म गच्छदारसँग कहिल्यै नहारेको बलियो चुनावी इतिहास साथमा थियो। त्यति बेला एमालेकी भगवती चौधरीले उनको तीन दशक लामो संसदीय यात्रामा ब्रेक लगाइदिएकी थिइन्।
माओवादी, एकीकृत समाजवादी लगायत दलसँग गठबन्धन भएका बेला पनि भगवतीबाट पराजित गच्छदार अहिले 'अन्तिम पटक' का लागि भन्दै मत मागिरहेका छन्।
गच्छदारको प्रतिकूलता यत्तिमै सीमित छैन। यसअघिका चुनावमा जस्तो पार्टी केन्द्रमा रहने उनको बलियो प्रभाव पनि यसपटक खस्केको अवस्थामा छ।
विशेष महाधिवेशनबाट गच्छदारका अनन्य मित्र शेरबहादुर देउवालाई सभापतिबाट विस्थापनमा पारेर गगन थापा नेतृत्वमा आएपछि उनी मात्र होइन, निकट विगतमा संस्थापनमा रहेका धेरै नेताको पार्टीभित्र एकछत्र प्रभाव घटेको स्थिति छ।
कतिसम्म भने, आठौं पटक डडेलधुराबाट चुनाव लडेर विश्राम लिने सोचमा रहेका निवर्तमान सभापति देउवा स्वयं टिकटविहीन बन्न पुगे। बिपीपुत्र सशांक, गणेशमानपुत्र प्रकाशमानसम्मले टिकट नपाउँदा त्यही समूहका गच्छदार भने टिकट पाउन सफल रहे।
'दागी र पुराना अनुहार' नदोहोर्याउने बताउँदा बताउँदै पनि कांग्रेसको नयाँ संस्थापनले यी दुवै 'मापदण्ड' मा पर्ने मानिएका गच्छदारको हातमा टिकट थमाइदिएको छ।
त्यसो त उनकै नातेदार समेत रहेका दुहबी नगरका मेयर वेद गच्छदारका हातमा पनि सभापति थापाले हस्ताक्षर गरेको टिकट थियो। उनले आफ्ना पारिवारिक अग्रज विजयलाई चुनाव लड्न आफ्नो टिकट छाडिदिए।
२०४८, ०५१, ०५६, ०६४, ०७० र २०७४ गरी ६ वटै चुनाव जित्ने क्रममा गच्छदारले संविधानसभाका दुइटा चुनाव भने कांग्रेस बाहिरबाट लडेका थिए।
२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि गच्छदारले लगातारजसो दल अदल-बदल गरिरहे। उनी जतिसुकै अस्थिर बने पनि सुनसरी-३ का मतदाता उनलाई पत्याउने सवालमा सधैं स्थिर देखिए। उनीहरूले मन र मत फेरेनन्। गच्छदारलाई नै सधैं जिताइरहे।
०४८, ०५१ र ०५६ का तीन संसदीय चुनाव सुनसरी–२ मा लडेर कांग्रेसबाट जितेका उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट लडे। त्यस बेला उनको क्षेत्र सुनसरी-३ भइसकेको थियो। त्यो निर्वाचनमा उनले मोरङ-७ बाट पनि जितेका थिए।
दुहबी नगरपालिका, इटहरी उपमहानगरको ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ नम्बर वडाहरू, इनरूवाको ७ नम्बर वडा, अनि गढी र बर्जु गाउँपालिका भएको यो क्षेत्रमा पुरानो सुनसरी-२ का ३० प्रतिशत क्षेत्र समेटिएका छन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुग्दा तत्कालीन मधेसी जनाधिकार फोरमबाट विभाजित भएर गच्छदारले फोरम लोकतान्त्रिक पार्टी बनाएका थिए। पार्टी फुटाएर चुनाव लड्दा पनि उनले सुनसरी-३ मा जितेका थिए।
त्यस बेला एमालेकी भगवती चौधरी उनीसँग पहिलो पटक पराजित भएकी थिइन्। गच्छदारले धाँधली गरेर जितेको भन्दै उनी मुद्दामामिलामा गएकी थिइन्।
२०७४ मा एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाएका थिए। त्यस बेलासम्म गच्छदार आफ्नो पुरानो घर कांग्रेस फर्किसकेका थिए। शक्तिशाली वाम गठबन्धनले यो क्षेत्रबाट भगवतीलाई नै अघि सार्यो, कांग्रेसले गच्छदारलाई।
यद्यपि मुलुकभर वाम गठबन्धनले प्रभावशाली नतिजा ल्याउँदा सुनसरी-३ मा गठबन्धनविरूद्ध गच्छदार एक्लै भारी साबित भए। नतिजा फेरि उही आयो। गच्छदार जिते, भगवती हारिन्। गच्छदारमाथि फेरि धाँधली गरेको बात लाग्यो।
२०७९ मा भने दृश्य फेरियो। कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहितको गठबन्धन थियो, एमाले एक्लै थियो। अरू बेला एक्लै जित्दै आएका गच्छदार गठबन्धनको साथका बाबजुद पराजित भए।
त्यसअघि दुई पटक भोगेको हारको बदला लिने क्रममा एमालेकी भगवती चौधरीले ४० हजार ७८८ मत ल्याइन्। गच्छदार ३५ हजार ६०० मतमा सीमित भए। राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ६ हजार ४५३ मत सहित तेस्रो भएका थिए।
यसपटक भगवती र गच्छदार चौथो पटक आमनेसामाने हुँदा अघिल्लो पटक तेस्रो भएको रास्वपाबाट अशोककुमार चौधरी प्रतिस्पर्धामा छन्। रास्वपाले सुनसरी-३ मा आफ्नो प्रभाव बढेको दाबी गरिरहेको छ भने कांग्रेस, एमाले पनि त्यही दाबीमा छन्।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुर्गेशकुमार चौधरी, राप्रपाबाट घनश्याम गुरूङसहित दलहरूबाट १७ र स्वतन्त्र गरी कुल २३ जना उम्मेदवार चुनाव लडिरहेका छन्।
४४ मतदान स्थल, १४६ मतदान केन्द्र र १ लाख ३४ हजार ३०२ मतदाता रहेको यो निर्वाचन क्षेत्र थारू बहुल मतदाता भएको ठाउँ हो। निर्वाचन क्षेत्रको यही जातीय जनसंख्याबाट लोभिएका मुख्य चार दलले थारू समुदायकै उम्मेदवार खडा गरेका छन्। यहाँ २३ मध्ये १० जना उम्मेदवार थारू समुदायकै छन्।
यो क्षेत्रमा गएको निर्वाचनमा समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको थियो। ३३ हजार ९०२ मत एमालेले पाउँदा कांग्रेसले २९ हजार ६८० र राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८३६ मत पाएका थिए। त्यस्तै, माओवादीले ३ हजार ९७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ९५९ मत पाएका थिए।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नयाँ अनुहारको माग उच्च छ।
यस्तो बेला विभिन्न विवादको चपेटामा परेका कांग्रेसका गच्छदार र ओलीको दल एमालेकी भगवती नै यहाँका मुख्य प्रतिस्पर्धी बन्छन् कि अन्य दल?
यसको छिनोफानो फागुन २१ को मतदानले गर्नेछ। त्यसेबलासम्म चाखलाग्दो भीडन्तको क्षेत्रका रूपमा सुनसरी-३ ले धेरैको ध्यान खिचिरहने पक्का छ।