प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गतेको निर्वाचन आउन अब ३१ दिन बाँकी छ। निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य निर्वाचन क्षेत्र र जिल्लाहरू जस्तै अर्घाखाँची पनि चर्चामा छ।
प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा पछिल्ला चार वटा निर्वाचनमा टोपबहादुर रायमाझीले लगातार जित निकाले। त्यसैले पनि अर्घाखाँचीबाट संघीय सांसदको नाम सम्झिँदा सबभन्दा पहिले लोकतन्त्र स्थापनापछिका सबै निर्वाचनमा एक्लै जित्दै आएका रायमाझीकै नाम अगाडि आउँछ। तर, यस पटकको निर्वाचनमा भने उनी प्रतिस्पर्धामा छैनन्।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो ३३ महिनादेखि प्रहरी हिरासत र कारागारमा छन्।
उक्त प्रकरणमा २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझीलाई अदालतले २०८० असार १ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो।
२०६४, २०७०, २०७४ र २०७९ सालमा अर्घाखाँचीबाट निर्वाचित बनेका रायमाझीको अनुपस्थितिमा अहिले पुराना र ठूला भनिएका उनको दल नेकपा एमाले सहित नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँगै नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गरी चार वटै दलका नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन्।
मुख्य गरी जिल्लामा प्रतिस्पर्धामा देखिने चार वटै पार्टीका नयाँ उम्मेदवार प्रतिनिधि सभामा डेब्यू गर्ने तयारीमा छन्।
अर्घाखाँचीमा नेकपा एमालेले पीताम्बर भुसाल, नेपाली काँग्रेसले विष्णु प्रसाद खनाल मुस्कान, नेपाली कम्युनिस्ट पार्टीले रामबहादुर चौहान र रास्वपाले हरि भुसाललाई उम्मेदवार बनाएको छ।
त्यस्तै, नेकपा माओवादीबाट खिम बहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्कर नाथ आचार्य, मङ्गोल नेसनल अर्गनाइजेसनका सूर्य बहादुर गुरूङ, नेसनल रिपब्लिक नेपालका विष्णु बहादुर गाहा, जनता समाजवादी पार्टीका टुक बहादुर चेवाली र आम जनता पार्टीका दुर्गा बहादुर भाट क्षेत्री उम्मेदवार छन्।
त्यसैगरी हिमाल भुसाल, पम्फा श्रेष्ठ र रवि शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। तर, मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेकपाका चार जनाको बीचमै हुने देखिन्छ।
अर्घाखाँचीमा अहिले उम्मेदवार बनेका नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेकपाका चारै जना उम्मेदवार जिल्लामै बसेर सानो उमेरदेखि नै पार्टीको संगठन निर्माण गर्दै जनताका काम र जिल्लाको विकास निर्माणमा निरन्तर खटिँदै आएका छन्।
एमालेबाट उम्मेदवार बनेका पीताम्बर भुसाल २०७९ सालको निर्वाचनमा चुनावी कमान्डर बनेका थिए।
दुई कार्यकाल सर्वसम्मत रूपमा पार्टीको जिल्ला अध्यक्ष बनेका हालका अध्यक्ष समेत रहेका भुसालकै कमान्डमा नेकपा एमालेले यसअघिको निर्वाचनमा प्रतिनिधिसभा सहित प्रदेशसभाका पनि दुई वटै क्षेत्रमा जित निकालेको थियो।
संघ, प्रदेश र स्थानीय तह गरी तीन वटै निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धनलाई एमाले एक्लैले स्थानीय तहका करिब ५३ प्रतिशत जनप्रतिनिधि निर्वाचित गराउन सफल भएको भन्दै भुसाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट जिल्ला अध्यक्षको रूपमा सम्मान गरेका थिए।
विद्यार्थी राजनीतिदेखि, गाउँ, इलाका, क्षेत्र, जिल्ला सदस्य हुँदै हाल दोस्रो कार्यकालको जिल्ला अध्यक्ष रहेका भुसाल पार्टी भित्र कुशल संगठकका रूपमा चिनिन्छन्। एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनका लागि भुसालले जिल्लामा सबैभन्दा बढी मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
२५ वर्षको उमेरमै २०५४ सालमा साबिक बागी गाविस अध्यक्ष निर्वाचित भएका भुसाल संसदीय यात्राका लागि भने पहिलो पहिलो पटक चुनावी मैदानमा छन्।
नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) हाल कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री छन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीति सुरू गरेका मुस्कान यसअघि कांग्रेसका जिल्ला सभापति थिए।
पार्टीको गाउँ, क्षेत्र र जिल्लाका विभिन्न पदमा रही जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै प्रदेश सहमहामन्त्री बनेका मुस्कान शिक्षकको जागिर त्यागेर राजनीतिमा लागेका थिए।
२०५४ सालमा शिक्षकको स्थायी जागिर त्यागेर उनी साबिक खन गाविस अध्यक्षका लागि उम्मेदवार बनेका थिए। त्यसपछि पनि २० वर्ष निरन्तर नेपाली कांग्रेसको संगठन निर्माणमा खर्चिएका मुस्कान २०७४ सालमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेर पराजित भएका थिए।
राजनीतिसँगै पत्रकार महासंघ अर्घाखाँचीको संस्थापक सदस्य र भू सन्देश साप्ताहिक पत्रिकाको सम्पादक बनेर केही समय पत्रकारिता क्षेत्रमा योगदान दिए।
रास्वपाका उम्मेदवार बनेका हरि प्रसाद भुसाल २०७९ सालमा पनि जिल्लामा रास्वपा बाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए। रास्वपाको स्थापनादेखि नै संगठन विस्तारमा लागेका भुसालले २०७९ को निर्वाचनमा ३ हजार ५ सय मत ल्याएर जिल्लामा रास्वपाको अस्तित्व स्थापित गराएका थिए।
सन्धिखर्कमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका भुसाल हाल अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रामबहादुर चौहान हाल सो पार्टीको केन्द्रीय सदस्य छन्।
चौहानको राजनीतिक यात्रा भने नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट सुरू भएको हो। अनेरास्ववियूबाट सन्धिखर्क स्थित पाणिनि बहुमुखी क्याम्पसमा स्ववियू सभापति, अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै युवा सङ्घको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका चौहान नेकपा एमाले विभाजनपछि माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीमा लागेका थिए।
पार्टी विभाजित हुँदा एमालेको जिल्ला सचिव रहेका चौहान एकीकृत समाजवादी पार्टी बनेपछि जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेका थिए। अर्घाखाँची अस्पताल विकास समिति अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष भएर काम गरेका चौहान नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको उपाध्यक्ष समेत बनेका थिए।
यी चारै दलका उम्मेदवार आफ्नो क्षेत्रमा राम्रो प्रभाव भएका नेता मानिन्छन्। जिल्लामै बसेर जनताका काममा भिजेका यी उम्मेदवारहरू यति बेला मतदाताका भावना बुझ्न निर्वाचन केन्द्रित अभियानमा लागेका छन्।
कुनै न कुनै माध्यमबाट निरन्तर स्थानीयदेखि केन्द्रसम्मका सरकारमा रहेका नेपाली काँग्रेस, एमाले र नेकपाले जिल्लामा गरेका विकास निर्माणका योजना र साङ्गठनिक बलका आधारमा चुनाव जित्ने दाबी गरिरहँदा रास्वपाले भने यस पटक नयाँलाई कामको अवसर दिन भन्दै मतदातालाई मत परिवर्तन गर्न आग्रह गरिरहेका छन्।
बहुदल स्थापना भएपछि हालसम्मको निर्वाचनलाई हेर्ने हो भने अर्घाखाँचीमा नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले समान २/२ वटा निर्वाचन जितेको देखिन्छ।
२०४८ सालमा नेपाली कांग्रेसबाट ढुण्डिराज शास्त्री र २०५१ सालमा रेवती भुसालले चुनाव जिते पनि त्यसयताका कुनै पनि निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सकेका छैनन्।
२०५६ सालमा एमालेको साथ लिएर राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्य विजयी भएका थिए। त्यसयता २०६४ र २०७० सालका संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन रायमाझीले जित्दै आएका थिए। तत्कालीन माओवादी केन्द्रबाट संविधान सभाका दुई वटै निर्वाचन जितेका रायमाझी २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा थिए भने २०७९ सालमा एमालेबाट जितेका थिए।
रायमाझीले ४२ हजार ६ सय ७५ मत सहित विजयी हुँदा नेपाली कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी थिइन्।
पाँच दलीय गठबन्धनका कारण प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई १ हजार ७३० मतले पराजित गरेको एमालेले समानुपातिक तर्फ भने कांग्रेसभन्दा साढे १० हजार बढी मत प्राप्त गरेको थियो। निर्वाचन आयोगको रेकर्ड अनुसार एमालेले प्रतिनिधिसभातर्फ ३७ हजार ४५० र प्रदेशसभातर्फ ३९ हजार ११० मत प्राप्त गरेको थियो।
नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ २६ हजार ८६५ र प्रदेशसभातर्फ २८ हजार ४७० मत प्राप्त गरेको थियो।
त्यस्तै, माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ७ हजार ३४२ र प्रदेशसभा तर्फ ८ हजार ५३५ मत प्राप्त गरेको थियो। समानुपातिकमा प्रदेशसभातर्फ तेस्रो बनेको माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ भने चौथो बनेको थियो।
प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले प्रतिनिधिसभामा ८ हजार ९५१ मत प्राप्त गर्दै समानुपातिकतर्फ तेस्रो बनेको थियो। त्यस्तै प्रतिनिधि सभातर्फ राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७, नेकपा एकीकृत समाजवादीले १ हजार ६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९१२ मत प्राप्त गरेका थिए।
पार्टी स्थापना पछिको पहिलो निर्वाचनमै अन्य दलहरूको मत तानेर स्थापित बनेको रास्वपा यस पटक थप मत तान्ने दाउमा छ भने एमाले र कांग्रेस आफ्नो मत जोगाउने रणनीतिमा छन्।
तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा पालिका र ६१ वटा वडा रहेको अर्घाखाँचीमा गत स्थानीय तहको निर्वाचनमा एमालेले ३ वटा प्रमुख, ५ वटा उपप्रमुख र ३१ वटा वडा अध्यक्ष जितेको छ।
नेपाली कांग्रेसले २ प्रमुख र २३ वडा अध्यक्ष जितेको छ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले एउटा प्रमुख र ३ वटा वडा अध्यक्ष जितेको छ भने तत्कालीन माओवादी केन्द्रले एउटा उपप्रमुख र ४ वटा वडा अध्यक्ष जितेको छ।
हाल १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेको अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता छन्।