राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा सहजै जित्न सकिने क्षेत्रका रूपमा कास्की–२ लाई राखेको छ।
पोखराको सहरी इलाका रहेको यस क्षेत्रमा रास्वपाले सहजै जित्न सक्ने आकलन गरिनुका पछाडि २०७९ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम रहेको छ। उक्त निर्वाचनमा यस क्षेत्रमा रास्वपाका तत्कालीन उम्मेदवार माधव कँडेल दोस्रो भएका थिए भने समानुपातिकतर्फ रास्वपा पहिलो बनेको थियो।
पञ्चायत कालदेखि निरन्तर जित्दै आएको कास्की–२ मा यसपालि एमाले आफ्नो विरासत जोगाउने दबाबमा छ। कास्कीका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले यो क्षेत्रलाई सबभन्दा सहज क्षेत्रका रूपमा लिएको थियो, जुन यसपालि भत्कने दाबी एमाले इतरका पार्टीहरूले गरिरहेका छन्।
पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा रहेको यस क्षेत्रमा २०७९ को निर्वाचनमा एमाले नेता विद्या भट्टराई निर्वाचित भएकी थिइन्। भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी हुँदा रास्वपाका माधव कँडेलले १२ हजार ४९५ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए।
त्यति बेलाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत ५ वटा दलको गठबन्धन थियो भने अर्कातिर एमाले र रास्वपा एक्लाएक्लै भिडेका थिए।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९, राप्रपाका सुवर्णराज पन्तले ३ हजार ९९३ र स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता महादेव गुरूङले १ हजार ३४० मत पाएका थिए।
प्रत्यक्षतर्फ एमाले उम्मेदवार भट्टाई विजयी भए पनि यस क्षेत्रबाट समानुपातिक मत परिणाममा रास्वपा पहिलो स्थानमा आएको थियो।
कास्की–२ मा समानुपातिकतर्फ रास्वपाले १४ हजार २ मत पाउँदा एमालेले १३ हजार ५४० मत पाएर दोस्रो भएको थियो। कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र नेकपा एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए।
तीन वर्षअघि भएको निर्वाचनमा समानुपातिकतर्फ पहिलो स्थानमा र प्रत्यक्षततर्फ ५ दलीय गठबन्धनलाई पछाडि पार्दै दोस्रो स्थान हासिल गरेको रास्वपाले यसपालि सहजै जित निकाल्ने दाबी गरिरहेका छन्।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठी कास्की–२ मा चुनाव जित्न अन्यत्रभन्दा सजिलो हुने बताउँछन्। मतदाताले अघिल्लो निर्वाचनमा देखाएको रूझान यसपालि अझ बढ्ने उनको दाबी छ।
कास्की–२ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य रश्मी आचार्य पनि आफू पाँच हजार मतान्तरले विजयी हुने दाबी गर्छन्।
नेपाली कांग्रेसले माधव बास्तोला 'मधु' लाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य किरण थापा 'आमोद', उज्यालो नेपाल पार्टीले ऊर्जाविद कुशल गुरूङ, राप्रपाले हेमजंग गुरूङलाई उम्मेदवार बनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की–२ मा ५ जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन्।
एमाले नेता रविन्द्र अधिकारी पटक पटक निर्वाचित भएको यो क्षेत्र कास्कीको सबभन्दा सानो भूगोल रहेको निर्वाचन क्षेत्र हो। अधिकारी ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनकी श्रीमती विद्या भट्टराई यही क्षेत्रबाट दुई पटक निर्वाचित भएकी थिइन्। उनी यसपटक एमाले राजनीति र चुनावी राजनीतिबाट टाढा बसेकी छन्। एमालेमा बौद्धिक नेताको छवि बनाएकी भट्टराई चुनाव नलड्ने भएसँगै अरू दलमा थप हौसला मिलेको उम्मेदवारहरू बताउँछन्।
एमालेको 'किल्ला' का रूपमा परिचित कास्की–२ मा टिकट वितरण बेला नेताहरूबीच असन्तुष्टि चुलिएको थियो।
एमाले केन्द्रीय सदस्य कृष्णबहादुर थापाले टिकट पाए पनि मनोनयन दर्ता गर्ने बेला टिकट खोसियो। उनको ठाउँमा अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई टिकट थमाइयो। २०७९ को स्थानीय निर्वाचनमा पनि एमाले नेता थापाले पोखरा महानगरका मेयरको टिकट अर्का नेता दीपक पौडेलबाट खोसेर आफू चुनाव लडेका थिए। उनी पाँच दलीय गठबन्धनका उम्मेदवार धनराज आचार्यसँग पराजित हुन पुगेका थिए।
यसपटक थापाले पाएको टिकट खोस्न सफल भएका रश्मी आचार्यका लागि एमालेभित्रको त्यही असन्तुष्टि चिर्न चुनौती हुने एमाले कार्यकर्ताहरू बताउँछन्।
मनोनयन दर्तामा भने आचार्य सँगसँगै थापा पनि गएका थिए। यसले एमालेभित्र आन्तरिक एकता प्रदर्शन गरेको उनीहरूको भनाइ छ।
रास्वपाले भने गएको निर्वाचनमा पार्टीको संरचना नहुँदा समेत प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो स्थान हासिल गरेको भन्दै अहिले सबै वडामा पार्टीको संरचना पुगेकाले जित सुनिश्चित भएको बताएको छ।
कांग्रेस उम्मेदवार माधव बास्तोला 'मधु' जेनजी आन्दोलनपछि पार्टी सुधारिएर आएकाले आफू विजयी हुने बताउँछन्।
देशबाट भइरहेको बौद्धिक पलायन, पुँजी पलायन लगायतका समस्या समाधान गर्ने, भ्रष्टाचारमुक्त देश बनाउने, संविधान संशोधन लगायतका एजेन्डा आफूले उठाएको उनको भनाइ छ।
'हामीले पार्टीमा सुधार ल्यायौं, अब देशमा कसरी सुधार ल्याउने भनेर घोषणापत्रमा आउँदैछ,' उनले भने, 'अहिलेका युवाले उठाएका माग सम्बोधन गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्री उम्मेदवार बनाएका छौं। उहाँको नेतृत्वमा कार्ययोजनासहित नीति र थिति बदल्छौं।'