निर्वाचनको मिति आउन अब २६ दिन मात्र बाँकी छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देहीका अन्य क्षेत्रमा जस्तै क्षेत्र नम्बर ५ मा पनि चुनावी माहौल तातिएको छ।
यो क्षेत्रमा तीन जना पूर्वमन्त्री र राष्ट्रिय सभाका सदस्य सहित विभिन्न क्षेत्रमा आफ्नो प्रभाव स्थापित गरिसकेका व्यक्तिहरू उम्मेदवार बनेका छन्।
क्षेत्र नम्बर ५ नेपाली कांग्रेसका सदाबहार उम्मेदवार भरतकुमार शाहको क्षेत्र भए पनि यहाँ अन्य राजनीतिक दलहरूबाट पनि पुराना र अनुभवी नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।
शाह २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेसबाट संघीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् भने यही क्षेत्रबाट एमालेले केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री मुहम्मद वकिल खान र जनमत पार्टीले पनि पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारीलाई उम्मेदवार बनाएको छ।
रास्वपाले पनि वातावरण संरक्षणमा काम गर्दै आएका युवा नेता तौफिक अहमद खानलाई उम्मेदवार बनाएको छ। त्यसैले पनि यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक बनेको छ।
२०५६ सालदेखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका शाहले त्यतिबेला एमालेका स्वर्गीय रामनाथ ढकाललाई पराजित गरेका थिए। शाहले १७ हजार २०४ मत प्राप्त गर्दा ढकालले १५ हजार २८३ मत ल्याएका थिए।
त्यसपछि २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा पराजित भएका शाह २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भए।
२०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका डिलाराम आचार्यलाई ठूलो मतान्तरले पराजित गरेका थिए। शाहले ३३ हजार ८८ मत प्राप्त गर्दा आचार्यले जम्मा २० हजार ४३८ मत प्राप्त गरेका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने शाहलाई एमालेका वासुदेव घिमिरेले पराजित गरेका थिए। घिमिरे ३६ हजार ८२२ मत सहित विजयी हुँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका थिए। अहिले फेरि शाह चुनावी प्रतिस्पर्धामा छन्।
२०११ मा जन्मिएका शाह २०५८ सालमै शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए। २०७५ असोज ५ गते सङ्घीय सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित, २०७८ मंसिरमा भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुनसँग पराजित भएका थिए। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर शाह २०४९ र २०५४ मा जिल्ला विकास समिति रूपन्देहीको सदस्य बनेका थिए।
खिमलाल भट्टराई एमालेमा युवा र प्रभावशाली नेता मानिन्छन्। रूपन्देहीको रामापुरका स्थायी बासिन्दा भट्टराई पछिल्लो १० वर्षदेखि सोही क्षेत्रमा एमालेको जनसंगठन निर्माणमा खटिएका थिए। एमालेभित्र सो क्षेत्र रामनाथ ढकालको क्षेत्रका रूपमा चिनिन्थ्यो। २०७१ सालमा ढकालको निधन भएपछि भट्टराईले सो क्षेत्रलाई आफ्नो आधार क्षेत्रको रूपमा तयार गरेका थिए।
२०७४ मा लुम्बिनी प्रदेशबाट ६ वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका भट्टराईलाई एमालेले २०७९ सालमै सो क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको थियो। प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि १ वर्ष कार्यकाल बाँकी रहँदै राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए।
तर त्यतिबेला पार्टीले वासुदेव घिमिरेलाई पनि टिकट दिएको थियो। दुवैले टिकट पाएपछि खिमलाल भट्टराईले पछि हटेर घिमिरेलाई सघाएका थिए।
टिकट वितरणका क्रममा पार्टीबाट भएको त्रुटिका कारण उम्मेदवार बन्न नपाएपछि चुनावी कमान्डर बनेर भट्टराईले घिमिरेलाई भारी मतले विजयी बनाउन भूमिका खेलेका थिए। राष्ट्रिय सभामा एमालेका तर्फबाट दलको नेता र मुख्य सचेतकको जिम्मेवारी सम्हालिसकेका भट्टराई अहिले उनी सोही क्षेत्रमा बलियो तयारीका साथ चुनावी मैदानमा ओर्लिएका छन्।
२०२७ सालमा जन्मिएका भट्टराईको राजनीतिक यात्रा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूबाट भएको हो। स्कुल पढ्दै गर्दा अनेरास्ववियूमा आबद्ध भएका भट्टराई बुटवल बहुमुखी क्याम्पसमा स्ववियू सभापति हुँदै २०६२ सालमा सम्पन्न अनेरास्ववियूको सत्रौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिएका थिए।
एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनमा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका भट्टराई यसअघिको कार्यकालमा पोलिटब्युरो सदस्य थिए। भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमए र बिएल अध्ययन पूरा गरेका छन्।
रुपन्देही क्षेत्र नं. ५ मा रास्वपाबाट उम्मेदवार बनेका तौफिक अहमद खान फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षणका लागि अभियन्ताको रूपमा मानिन्छन्। २०४४ सालमा जन्मिएका खानले एमबिए सम्मको अध्ययन पुरा गरेका छन्।
खानले वातावरण संरक्षण तथा विभिन्न सामाजिक सचेतनाका अभियानहरूमा युवा पुस्तालाई प्रोत्साहन गर्दै आएका छन्। उनले सन् २०२३ मा युएईमा सम्पन्न कोप २८ मा नेपालको प्रतिनिधित्व गर्दै समान जलवायु कार्यको पक्षमा वकालत गरेका थिए।
यो क्षेत्रमा दुई जना पुर्वमन्त्री सहित २६ जनाले उम्मेदवारी दिएका छन्।
जनमत पार्टीबाट ओमप्रकाश यादव (गुल्जारी) उम्मेदवार बनेका छन्। २०३७ सालमा जन्मिएका गुल्जारी तत्कालीन माओवादी विद्रोही विरुद्ध प्रतिकारमा उत्रिएपछि राजनीतिमा उदाएका थिए। २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ (तत्कालीन क्षेत्र नं. २) बाट उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका गुल्जारी कृषि तथा सहकारी राज्यमन्त्री बनिसकेका छन्।
२०७० सालमा सद्भावना पार्टीमा प्रवेश गरेर संविधान सभाको दोस्रो निर्वाचनमा उम्मेदवार बनेका गुल्जारी त्यस बखत भने पराजित भएका थिए। त्यसपछि उनी २०७४ सालमा एमाले प्रवेश गरेर उनी रुपन्देही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए।
त्यहाँ पनि पराजित भएपछि एमाले परित्याग गरेका गुल्जारी २०७९ सालमा पुरानै दल, जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेर सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यहाँ पनि पराजित भएपछि उनी फेरि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेर केन्द्रीय उपाध्यक्ष बने।
राजनीतिक दल मात्र होइन निर्वाचन क्षेत्रसमेत परिवर्तन गर्दै आएका गुल्जारी २०६४ सालमा बाहेक अन्य निर्वाचनमा पराजित बन्दै आएका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका मोहम्मद वकिल मुसलमान पनि संविधानसभा सदस्य र संघीय वनमन्त्री भइसकेका थिए। मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट तत्कालीन रूपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए। २०७९ भदौमा भने उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
क्षेत्र नंं ५ मा कञ्चन, मायादेवी र गैंडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म र सैनामैना नगरपालिकाका वडा नंं ५ देखि ११ सम्म गरी ४० वटा वडा पर्छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जितेका वडा र वडा अध्यक्षहरूले पाएको मत परिणामलाई हेर्ने हो भने क्षेत्र नं. ५ मा एमाले बलियो देखिन्छ।
उक्त निर्वाचनमा नेपाली कांग्रेस सहित ५ दलीय गठबन्धन मिलेर लडेको निर्वाचनमा एमाले एक्लैले १७ वटा वडा जितेको थियो भने नेपाली कांग्रेसले १४ वटा वडा जितेको थियो। त्यस्तै जसपाले ३, जनमतले ३, लोसपाले २ र स्वतन्त्रबाट एक वडा अध्यक्ष विजयी भएका थिए।
वडा अध्यक्षहरूले पाएको मत जोड्दा पनि पाँच दलीय गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेसले ३१ हजार ८०७ मत प्राप्त गर्दा एमाले एक्लैले ३० हजार २१ मत प्राप्त गरेको छ। त्यस्तै जनता समाजवादी पार्टीले १० हजार ७८६, लोकतान्त्रिक समाजवादी पार्टीले ८ हजार ८३२ मत प्राप्त गरेको छ।
क्षेत्र नं. ५ मा राम्रै उपस्थिति भएको जनमत पार्टीका वडा अध्यक्षहरूले ८ हजार १९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार २०१ मत प्राप्त गरेका छन्। मधेस र पहाडको समिश्रण रहेको यो क्षेत्रमा पहाडी र मधेसी समुदायको मिश्रित बसोबास रहेको यो क्षेत्रमा १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन्। यहाँ विभिन्न राजनीतिक दलहरूका र स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी मैदानमा छन्।