अमेरिकाले इरानमा चाँडै नै सैन्य हमला गर्न सक्ने विवरण सार्वजनिक भएको छ।
स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता तात्विक रूपमा सफल नभएपछि अमेरिकाले इरानमा सैन्य हमला गर्ने तयारी गरेको हो।
अमेरिकाबाटै प्रकाशन हुने तीनवटा सञ्चारमाध्यमहरूले यही साताको अन्तिममा अमेरिकाले इरानमाथि आक्रमण गर्ने योजना बनिसकेको उल्लेख गरेका छन्।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले अमेरिकी सेनाले इरानमा हमला गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको भनेर लेखेको छ।
सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीन सिग्नल कुरेर बसेको भनेर अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।
टेलिभिजन नेटवर्क सिएनएनले इरानमा यो शनिबारभित्रै अमेरिकाले 'सैन्य कारबाही' गर्न सक्ने उल्लेख गरेको छ।
यो खबर सुरूमा सिबिएस न्युजले सार्वजनिक गरेको थियो। उसले उच्च राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पसमक्ष शनिबारदेखि नै आक्रमण गर्ने विकल्प तयार भइसकेको भनेर लेखेको छ।
अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थितीलाई मजबुत बनाएको छ। अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि नै मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ।
केही दिनअघिमात्रै अमेरिकाले अर्को युद्धपोत जेराल्ड फोर्ड मध्यपूर्व क्षेत्रमा पठाएको थियो। यो जिब्राल्टरनजिक पुगिसकेको र यसले अब्राहम लिंकनसँग समन्वय गर्ने बताइएको छ। दुवै क्यारियर समूहमा विनाशक, क्रुजर र पनडुब्बीहरू समेत संलग्न छन्।
दुइटा लडाकू विमानबाहक युद्धपोतबाहेक बेलायतस्थित अमेरिकी वायुसेनाको इन्धन बोक्ने दर्जनौं ट्यांकर विमान, ५० वटाभन्दा बढी अतिरिक्त लडाकू विमान पनि मध्यपूर्वमा परिचालन गरिएको छ।
प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू क्षेत्रमा सारिएका छन्, जसले इरानी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सक्ने अमेरिकी अधिकारीहरूको दाबी छ।
अमेरिकी बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन्।
सम्भावित आक्रमण वा इरानी प्रतिकारको जोखिमलाई ध्यानमा राख्दै पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा युरोप वा अमेरिकातर्फ सारिरहेको पनि सिएनएनले लेखेको छ।
मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति तीव्र गतिमा बढाइएको अवस्थामा अब ह्वाइट हाउससँग विकल्पहरूको छनोट गर्नुपर्ने अवस्था आएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।
जेनेभामा मंगलबार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भएको थियो।
इरानले मार्गनिर्देशक सिद्धान्तमा सहमति भएको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले सहमतिका लागि अझै ठूलो दूरी बाँकी रहेको बताएका छन्। इरानले थप प्रस्ताव ल्याउन दुई साता समय मागेको थियो।
यसबीच अमेरिकी विदेशमन्त्री मार्को रूबिओ छिट्टै इसराइल भ्रमणको तयारीमा छन्। उनले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सम्भावित संयुक्त आक्रमणको तयारीबारे छलफल गर्ने भनिएको छ।
गत वर्षको जुलाईमा मात्रै अमेरिकाले इरानमाथि हमला गरेको थियो। त्यतिबेला उसले इरानको आणविक कार्यक्रमहरूलाई लक्ष्य गरेर तीनवटा आणविक भट्टीमा जिबियू-५७ बम खसालेको थियो।
त्यसबाट इरानको आणविक भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको दाबी अमेरिकाले गरेको थियो। तर पछिल्लो समय इरानले आणविक कार्यक्रमहरू सञ्चालन गरिहेको संकेत दिने भूउपग्रह तस्बिरहरू सार्वजनिक भएका छन्।
तस्बिरमा केही प्रमुख आणविक स्थलहरूमा कंक्रिट प्रयोग गरी सुरक्षाका संरचनाहरू मजबुत पारिएको देखिएको छ। यसबाट पनि इरानको आणविक कार्यक्रमहरू सञ्चालनमै रहेको भन्ने बुझिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले हमला गरे इरानले पनि त्यसको प्रत्युत्तर दिने चेतावनी यसअघि नै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दिइसकेका छन्।
बुधबार आफ्नो एक्स अकाउन्टमा खामेनीले अमेरिकी युद्धपोत समुद्रको पिँधमा देखाइएको एआई तस्बिर सार्वजनिक गर्दै युद्धपोतलाई डुबाउन सक्ने हतियार इरानसँग रहेको दाबी गरेका छन्।
इरानले मध्यपूर्वमा रहेका अमेरकी सैन्य अड्डामा पनि निशाना बनाउने चेतावनी दिएको छ।
जोन हप्किन्स विश्वविद्यालयका इरान विज्ञ वाली नासरले अहिले भइरहेको कुटनीति प्रयत्नले अमेरिकालाई अमेरिकालाई आक्रमणमका लागि मात्रै नभई इरानलाई पनि प्रतिकारका योजना तयार बनाउन समय मिल्ने बताए।