कफिनमा नाम एक जनाको छ, भित्र कंकाल अर्कैको।
बाहिर लेखिएको नाम पछ्याउँदै जाँदा अनुसन्धानकर्ताहरू एउटा समयमा पुग्छन्। भित्रको हड्डी जाँच्दा त्योभन्दा सयौं वर्ष पछाडिको समयमा।
झट्ट सुन्दा सुपरहिट हिन्दी फिल्म 'दृश्यम' को चौथो शृंखलाका लागि सोचिएको कथाजस्तो लाग्छ। तर यो कुनै फिल्मको पटकथा होइन।
यो लन्डनको ऐतिहासिक चर्च वेस्टमिन्स्टर एबीमा रहेको कफिनको कथा हो।
यो ढुंगाको कफिनसँग एउटा गहिरो रहस्य जोडिएको छ।
कफिनमा भ्यालेरियस अमान्डिनसको नाम कुँदिएको छ।
ल्याटिन भाषाको अभिलेख अनुसार दुई जना छोराले आफ्ना बाबुको सम्झनामा त्यो कफिन बनाएका थिए। त्यसको बनोट र सजावट रोमनकालीन नै छन्।
यति मात्रै हेर्दा कफिनभित्र भ्यालेरियस अमान्डिनसकै अवशेष छ भन्नेमा कसैले शंका मान्नुपर्दैन।
तर त्यही कफिनको ढकनीमा रहेको ठूलो क्रस चिह्नले शवको वास्तविकतामा प्रश्न उठायो।
किनभने, त्यो क्रसको शैली कफिन बनाइएको समयभन्दा सयौं वर्ष पछाडिको थियो।
त्यसो भए के कसैले पुरानो कफिनमा अर्कै व्यक्तिलाई गाडेको थियो?
अनुसन्धानकर्ताहरूले हड्डीको वैज्ञानिक परीक्षण गरेपछि यसबारे नयाँ तथ्य सार्वजनिक भएको छ।
अध्ययन अनुसार कफिनमा नाम कुँदिएका व्यक्ति सन् ३००–४०० तिरका थिए। जबकि, भित्र भेटिएको कंकालको समय सन् ९८७ देखि १०५२ बीचको देखिएको छ।
यसले कफिनको नाम र वास्तविक अवशेष फरक फरक व्यक्तिको हो भन्ने पुष्टि भयो। तर प्रश्न अझै बाँकी छ — कफिनभित्रको अवशेष कसको हो?
अहिलेसम्मको अध्ययन अनुसार उनी वेस्टमिन्स्टर चर्चका प्रमुख धर्मगुरू हुन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ।
पुरातत्त्वविद प्राध्यापक वारिक रोडवेलको यो अनुसन्धान 'जर्नल अफ द ब्रिटिस आर्कियोलोजिकल एसोसिएसन' मा प्रकाशित छ। वेस्टमिन्स्टर एबीले यही अक्टोबर २१ मा अनुसन्धानको विवरण सार्वजनिक गरेको हो।
यो कथाको सुरूआत आजभन्दा १५७ वर्षअघि, सन् १८६९ को उत्खननबाट हुन्छ।
त्यस वर्ष इटाली भ्रमणबाट फर्किएका वेस्टमिन्स्टर एबीका तत्कालीन डिन आर्थर पेनरिन स्टान्लीका लागि त्यो अनपेक्षित खोज थियो।
लन्डनमा रोमन इतिहास सम्झाउने कफिन फेला परेपछि स्टान्लीले सन् १८७० मा यसबारे लेख नै प्रकाशित गरे।
तर कफिनमा रोमनकालीन अभिलेख भए पनि भित्रको कंकाल पछिल्लो समयको हुन सक्ने उनको बुझाइ थियो। किनभने, मृतकको दर्जा चिनाउने स्पष्ट वस्तु त्यहाँ भेटिएको थिएन।
नाम लेखिएको ढुंगाले प्रश्नको सजिलो जबाफ दिएजस्तो देखिन्थ्यो, तर ढकनीको क्रसले त्यही जबाफमाथि शंका जन्माइरहेको थियो।
त्यसपछि अर्को अन्योल थपियो — त्यो कफिनभित्र कंकाल नै नभएको चर्चा चल्न थाल्यो।
यही चर्चाबीच सन् २०१६ मा उक्त कफिनलाई संरक्षणका लागि कार्यशालामा लगियो। पुरातत्त्वविद् प्राध्यापक रोडवेल लगायतका अनुसन्धानकर्ताले ढकनी उठाएर हेर्दा भित्र झन्डै पूरा कंकाल भेटे।

कफिनभित्र चूनाको सेतो अवशेषले बनाएको आयताकार घेरा पनि देखियो।
रोडवेलले त्यसलाई कुहिएर नष्ट भएको काठको कफिनको छापका रूपमा व्याख्या गरेका छन्।
उनको अनुमान अनुसार मृतकलाई पहिले काठको कफिनमा राखिएको थियो। त्यसपछि त्यसलाई पुरानो ढुंगे कफिनभित्र राखियो। समय क्रममा काठ बाँकी रहेन, तर त्यसले छाडेको चिह्नले अन्त्येष्टिको तरिकाबारे सुराक दियो।
यति मात्र होइन, कफिनभित्र रहेको हड्डीबाट मृतकको शारीरिक अवस्थाबारे पनि केही कुरा थाहा भयो।
पुरानो अनुमानमा मृतक बढीमा ३० वर्षका र करिब ५ फिट ७ इन्च अग्ला युवक थिए।
नयाँ परीक्षणले मृत्यु हुँदाको उमेर ३५ देखि ४९ वर्ष र उचाइ करिब ५ फिट ९ इन्च देखायो।
हड्डीको नमूना रेडियोकार्बन परीक्षणका लागि स्कटिस युनिभर्सिटिज इन्भाइरन्मेन्टल रिसर्च सेन्टर पठाइयो। नतिजाले सन् ९८७ देखि १०५२ बीचको समय देखायो। यो उनको जन्म र मृत्युको छुट्टाछुट्टै मिति होइन, अवशेषको समय निर्धारणबाट प्राप्त दायरा हो।
हड्डीको परीक्षणबाट यस्तो तथ्य फेला परेपछि मृतक को हुन् भन्ने प्रश्न उठ्यो।
किनभने, कफिनमा नाम कुँदिएका अमान्डिनसलाई एबीले सन् ३००–४०० तिर लन्डनमा बस्ने सम्पन्न व्यक्तिका रूपमा चिनाएको छ।
हड्डीको समय त्योभन्दा धेरै पछिको देखिनुले पुरानो कफिन पुनः प्रयोग भएको बुझाइलाई बलियो बनायो। ढकनीमा दसौं वा एघारौं शताब्दीको शैलीमा बनाइएको क्रससँग पनि त्यो नतिजा मेल खायो।
अब प्रश्न समयको मात्रै रहेन। त्यस्तो कफिनमा सम्मानसाथ गाडिएका व्यक्ति को हुन सक्थे?
रोडवेलले सम्भावित व्यक्तिको खोजी तत्कालीन चर्च प्रमुखहरूको इतिहासमा गरेका छन्।
पहिलो सम्भावना एल्फविग हुन्, जसले सन् ९९३ देखि करिब १०२० सम्म नेतृत्व गरेका थिए।
दोस्रो उनका उत्तराधिकारी वुल्फनोथ हुन्, जसको कार्यकाल करिब १०२० देखि १०४९ सम्म थियो।
दुवैको समय हड्डीको परीक्षणबाट देखिएको दायरासँग मिल्छ।
एल्फविग पहिले नै वेस्टमिन्स्टरका धर्मगुरू रहेकाले रोडवेल उनलाई केही बढी सम्भावित मान्छन्। तर दुवैको जन्ममिति थाहा छैन। नियुक्ति हुँदा उनीहरू २० वर्षको सुरूतिर र मृत्यु हुँदा ५० वर्ष नजिक थिए भन्ने मान्दा मात्रै उमेरको तुलना मिल्ने उनको तर्क छ।
यो अनुमानलाई पहिचानको अन्तिम प्रमाण मान्न मिल्दैन।
कंकालमा विगतमा भएका केही छेडछाडका चिह्न पनि छन्। हातखुट्टाका हड्डी मिसिएका थिए र खप्परमा क्षति पुगेको थियो।
त्यस्तै, कार्बन परीक्षण गर्दा जोर्नी खिइएको, दुई करङ भाँचिएर निको भएको र गाउटको संकेत पनि देखिएको विवरण छ।
यसले मृतकले भोगेको इतिहास त खोल्छ, तर उनको नाम बताउँदैन।
पुरानो रोमन कफिन नै किन रोजियो भन्ने प्रश्न पनि बाँकी छ। त्यसको मूल स्थान कहाँ थियो भन्ने निश्चित छैन। नाम, सजावट, क्रस र हड्डी एउटै वस्तुसँग जोडिए पनि ती सबै एउटै समयका प्रमाण होइनन्।
अहिले यो कफिन वेस्टमिन्स्टर एबीको क्विन्स डायमन्ड जुब्ली ग्यालरिजमा प्रदर्शनमा राखिएको छ।
कफिन बाहिरको नाम पढ्न सकिन्छ। भित्रका व्यक्तिको समय पनि पहिलेभन्दा स्पष्ट भएको छ।
तर उनको नाम अझै रहस्यकै गर्भमा छ।
***