इरानमा विद्यार्थीहरू पुनः आन्दोलित भएका छन्।
राजधानी तेहरान सहित विभिन्न विश्वविद्यालयहरूमा प्रदर्शन सुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा त्यहाँ विद्यार्थीहरू प्रदर्शनमा ओर्लिएका छन्।
तेहरानको शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरू मार्च गरिरहेको तस्बिर तथा भिडिओ सार्वजनिक भएका छन्।
तेहरानकै अर्को विश्वविद्यालमा पनि विद्यार्थीहरुले धर्ना दिएका छन्। उत्तरपूर्वी क्षेत्रका विभिन्न विश्वविद्यालयमा विरोध सभाहरू आयोजना गरिएका छन्।
इरानमा गत जनवरीमा विद्यार्थीहरूले गरेको प्रदर्शन क्रममा धेरै मारिएका थिए।
उनीहरूको सम्झनामा विश्वविद्यालयहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए।
त्यस्ता कार्यक्रमहरूमा इरानी सरकार पक्षका सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्न खोजेपछि इरानमा विद्यार्थीहरूको प्रदर्शन फेरि सुरू भएको भनेर बिबिसीले लेखेको छ।
प्रदर्शनमा मारिएका विद्यार्थीहरुको संस्मरण सभालाई रोक्ने प्रयास भएपछि विद्यार्थीहरू मार्चमा उत्रिएको र त्यसपछि केही ठाउँमा सरकारी सुरक्षाकर्मीसँग झडप समेत भएको भनेर बिबिसीले लेखेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि केही विश्वविद्यालयमा सुरक्षा निकायको कडा उपस्थिती र विद्यार्थीमाथि धरपकड भएपछि त्यसले फेरि आक्रोश जन्माएको उल्लेख गरेको छ।
केही विद्यार्थीलाई अनुशाससँग सम्बन्धित कारबाही भनेर निलम्बन समेत गर्न थालिएपछि आन्दोलन पुनः सुरू हुन लागेको रोयटर्सले लेखेको छ।
आन्दोलन गत जनवरीमा सुरू भएर रोकिएयताकै सबैभन्दा ठूलो भनिएको छ।
इरानले आन्तरिक सँगै बाह्य तनाव पनि चर्किँदै गएको छ।
अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति बढाएको छ। अमेरिकाले कुटनीति प्रयासबाट नभए सैन्य कारबाही अर्को अनिवार्य विकल्प भन्दै आइरहेको छ।
परमाणु कार्यक्रम अन्त्यका लागि सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई १० देखि १५ दिनको समय दिएका छन्।