नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तथा नेता वामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिंगो एमाले सहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।
पार्टी प्रवेश गरेका पूर्वमेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष न्हुच्छे मर्हजनले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रूपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
महर्जन एमालेबाट मेयर जितेका थिए।