प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार उनी ५६ हजार ५५० मत प्राप्त गर्दै उनी विजयी भएका हुन्।
उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल ९ हजार३९२ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डेले १ हजार ४०९ मत ल्याएका छन्।
बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा यो क्षेत्रमा पर्छन्।
यो निर्वाचन क्षेत्रलाई नेकपा एमालेले आफ्नो गढका रूपमा लिएको थियो। २०६४ साल यताका हरेक निर्वाचनमा एमालेका विष्णु पौडेल यही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए। चार वर्षअघि खुलेको रास्वपाले यहाँ २८ वर्ष पुरानो एमालेको गढ भत्काउन लागेको हो।
रास्वपाका खरेल रूपन्देहीकै क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचनमा समेत उम्मेदवारका दाबेदार थिए। रास्वपाले त्यहाँ अन्तिम समयमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यस पटक पनि रास्वपाले क्षेत्र नम्बर २ मा पहिले आशिष सुवेदीलाई टिकट दिएको थियो।
क्षेत्र नम्बर ३ मा उपनिर्वाचनकै लागि डा. लेखजंग थापालाई टिकट दिएको रास्वपाले आम निर्वाचनमा पनि उनैलाई टिकट दिने भएपछि खरेलले क्षेत्र नम्बर २ का लागि टिकट लिने प्रयास सुरू गरेका थिए।
यसपटक निर्वाचनको मुखमा बालेन शाह रास्वपा प्रवेश गरेपछि पहिले उनको समूहबाट आशिष सुवेदीले टिकट लिएर आएका थिए भने खरेलले पनि रातारात टिकट लिएर आएका थिए। सुवेदी र खरेल दुई जनालाई नै टिकट दिइएपछि रास्वपाभित्र विवाद समेत भएको थियो।
पार्टीभित्र विवाद उत्पन्न भएपछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा रास्वपाले सुवेदीलाई ब्याक गराएर खरेललाई नै टिकट दिएको जानकारी गराएको थियो। त्यसपछि खरेलले उम्मेदवारी दर्ता गरेका थिए।
पार्टी स्थापनादेखि नै रास्वपा सभापति रवि लामिछानेसँग निकट रहेका खरेल अधिवक्ता हुन्। बुटवल उपमहानगरपालिका-१६ सेम लारका स्थायी बासिन्दा खरेल २०५४ साल भदौमा जन्मिएका हुन्। उनले प्लस-टूसम्मको अध्ययन रुपन्देहीबाटै गरे।
खरेलले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए–एलएलबी गरेका थिए। नेपाल ल क्याम्पसमा पढ्दा उनी दुई वर्ष जति नेकपा एमाले निकट अनेरास्ववियूमा आबद्ध थिए। बीए-एलएलबीपछि चार वर्ष वकालत गरेका खरेलले अमेरिकाको मिसिगन ल स्कुलबाट पूर्ण छात्रवृत्तिमा कानुनमा स्नातकोत्तर (एलएलएम) पढ्ने अवसर पाए।
मिसिगन ल स्कुलबाट एलएलएम गरेपछि खरेल नेपाल फर्किएर वकालत पेसामै आबद्ध भए। यसबीच खरेलले केही विषयमा गरेका बहस चर्चामा पनि रहेका थिए।
उनले केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनविरुद्ध सबभन्दा कान्छा रिट निवेदकका रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गरेका थिए। त्यसबाट राष्ट्रिय तहमा चर्चा कमाएका थिए।
संवैधानिक तथा फौजदारी कानुनमा रूचि राख्ने खरेलले विराटनगरमा थुनिएका लालबहादुर विकको रिहाइमा समेत बहस गरेका थिए।
राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट विभूषित भइसकेका खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए।
खरेलमाथि जेनजी आन्दोलन बेला न्यायाधीशहरूमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने आसयका मेसेज ह्वाटसएपबाट आदानप्रदान गरेको आरोप लागेको थियो।