नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रूपान्तरण गर्न अग्रसरता लिने बताएका छन्।
रूपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जाल प्रतिक्रिया लेख्दै उनले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न पनि अग्रसरता लिने बताएका छन्।
‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रूपन्देही क्षेत्र नम्बर २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु। यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रूपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांइबाट अगाडि बढाउनु हुनेछ,’ उनले विश्वास व्यक्त गरेका छन्।
निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया भएको भन्दै उनले आफ्ना लागि रुपन्देही र विशेष गरी क्षेत्र नम्बर २ पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र नभएको बताएका छन्।
‘यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो। यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ। म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ। यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु,’ उनले भनेका छन्।
निर्वाचनको परिणामबाट कत्ति पनि विचलित नहुन उनले सबैलाई आग्रह गरेका छन्। राजनीति एउटा लामो यात्रा भएकालेले उतारचढाव स्वभाविक भएको बताएका छन्।
‘कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र संकल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु। विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्।