प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा सुनसरीका चार वटै क्षेत्रमा नयाँ दलका उम्मेदवार अग्रस्थानमा देखिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता परम्परागत दलको प्रभाव रहेको जिल्लामा यस पटक मतदाताले नयाँ शक्तितर्फ झुकाव देखाएको मतगणनाको परिणामले देखाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्कराज राई अग्रस्थानमा रहेका छन्।
उनले हालसम्म ७ हजार ८१३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ५ हजार ८७१ मत प्राप्त गरेकी छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र) का सूर्यबहादुर भट्टराईले १ हजार ४७३ मत प्राप्त गर्दा नेकपा (एमाले) का टिकाराम लिम्बुले १ हजार २१४ मत प्राप्त गरेका छन्।
प्रारम्भिक परिणामले यस क्षेत्रमा नयाँ दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ।
सुनसरी–२ मा पनि नयाँ दलकै उम्मेदवारले अग्रता कायम गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १३ हजार ३१९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
उनलाई नेपाली कांग्रेसका राजीव कोइरालाले ६ हजार ४९ मतसहित पछ्याइरहेका छन्। यस क्षेत्रमा नेकपा (एमाले) का सुजन लामाले १ हजार ५२२ मत प्राप्त गरेका छन् ।
सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी फराकिलो मतान्तरसहित अग्रस्थानमा देखिएका छन्। उनले हालसम्म २७ हजार ८५ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १० हजार ३६४ मतसहित पछ्याइरहेका छन्। यसै क्षेत्रमा नेकपा (एमाले) की भगवती चौधरीले ८ हजार १२४ मत प्राप्त गरेकी छन्।
सुनसरी ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै दीपककुमार साह अगाडि छन् । उनले ३ हजार ७०२ मत, नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ५०९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ८४१ मत प्राप्त गर्दा नेकपाका महमद महफुज अन्सारीले ४४६ मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणामले सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले उल्लेखनीय मत प्राप्त गर्दा काङ्ग्रेस एमाले र नेकपा उम्मेदवार धेरै पछि परेका छन्।