राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देशव्यापी लहर देखिँदा आश्चर्यजनक परिणाम आइरहेको छ। यस्तै आँकडा काठमाडौं–१ मा पनि देखिएको छ। काठमाडौं–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की कृतु भण्डारी (मेनुका)ले आफ्नै कमिटीको पनि भोट पाउन सकिनन्।
त्यहाँ गत माघ १६ गते ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनेको थियो। भण्डारीलाई जिताउन पार्टीकी नेता पम्फा भुसालले नै ५०१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा गरेकी थिइन्।
तर समितिमा बस्नेले नै उनलाई मतदान गरेनन्। निर्वाचनको अन्तिम परिणाम आउँदा भण्डारीले ३४५ मत मात्रै ल्याइन्।
काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना न्यौपानेले १५ हजार ४५५ मत ल्याएर निर्वाचित भइन्। प्रतिस्पर्धी कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए।
नेकपाकी भण्डारीले जमानत पनि जोगाउन सकिनन्। जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत कटाउनुपर्छ।