रूपन्देही क्षेत्र नं. १ मा रास्वपाका महामन्त्री सुनिल लम्साल विजयी भएका छन्।
कांग्रेसका हिराबहादुर खत्रीलाई ४२ हजार ८६३ मतान्तरले पराजित गर्दा लम्सालले ५४ हजार ८४५ मत ल्याए।
यहाँ राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत ल्याएका छन् भने एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ र नेपाली कम्युनिस्ट पार्टीका २ हजार १९८ मत ल्याएका छन्।
प्राविधिक पृष्ठभूमिका सुनिल निर्वाचनको लागि मनोनयन गर्ने केही दिन अघि मात्रै रास्वपा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको लागि टिकट लिएका थिए।
२०४७ सालमा स्याङ्जामा जन्मिएका सुनिल २०५२ सालदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ मा परिवारसहित बस्दै आएका छन्।
बुवा बोधराज लम्साल र आमा जमुना लम्सालका माइलो छोरा सुनिलले रुपन्देहीकै भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन्।
स्नातकोत्तर भने उनले भारतको बैंग्लोरस्थित निट्टी मिनाक्षी इन्स्टिच्युट एन्ड टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा गरेका थिए।
हाल काठमाडौँ विश्वविद्यालयबाट फोहोर मैला व्यवस्थापनमा विद्यावारिधि अध्ययन गरिरहेका लम्साल प्राविधिक विषयमा अध्ययन र अनुसन्धानमै केन्द्रित छन्।
यसअघि बालेन साह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनी महानगरपालिका अन्तर्गत नगर पूर्वाधार तथा वातावरण विज्ञका रूपमा कार्यरत थिए।
उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर विमानस्थल, सिंहदरबार पुनर्निर्माणजस्ता राष्ट्रिय गौरवका आयोजनामा प्राविधिक भूमिका निर्वाह गरेका थिए।
यसका साथै देशका ३५ जिल्लामा नमुना विद्यालय निर्माण तथा १२ जिल्लामा अस्पताल पूर्वाधार विकासमा काम गरेको अनुभव सँगालेका लम्सालले रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको पूर्वाधार क्षेत्रमा पनि काम गरेका थिए।
सुनिलसँग पूर्वाधार, वातावरणीय व्यवस्थापन, सहरी योजना र सार्वजनिक निर्माणका क्षेत्रमा प्रत्यक्ष काम गरेको अनुभव छ। नेकपा एमालेको पारिवारिक राजनीतिक पृष्ठभूमिमा हुर्किएका सुनिल स्कुल कलेजमा अध्ययन गर्दा अनेरास्ववियूमा आबद्ध थिए। सुनिलकी आमा जमुना लम्साल २०७४ सालमा एमालेबाट वडा सदस्य जितेर जिल्ला समन्वय समिति सदस्य बनेकी थिइन्।
यसअघि एमाले रुपन्देही जिल्ला सदस्य समेत रहेकी जमुना डेढ महिना पहिलेसम्म एमाले रुपन्देहीको सल्लाहकार थिइन्। सुनिलले रास्वपा बाट उम्मेदवारी दर्ता गरेपछि जमुनाले एमाले सल्लाहकारबाट राजीनामा दिएकी थिइन्।