पर्सा-३ मा मतपेटिका भण्डारमा छुटेपछि विवाद उत्पन्न भएको छ।
विवाद पछि मतगणना स्थगित भएको छ। मतगणना सुरू गराउन प्रमुख जिल्ला अधिकारी भोला दहाल पोखरीया पुगेका छन्।
पर्साको पोखरीयास्थित जिल्ला उचांगल रामदेव कलवार मा.वि पर्सा-३ र ४ को मतगणना स्थल हो।
निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार एउटा मतदान केन्द्रका अधिकृतले दुई वटा मतपेटिकामा मतपत्र संकलन गरेका थिए। एउटा मतपेटिकाबाट मतपत्र खन्याएर गणना गरि सकिएको थियो। अर्को भण्डारमै छुटेको हो।
गणना भएको मत र उक्त केन्द्रमा खसेको मतमा फरक आएपछि नेपाली कांग्रेस तथा एमालेका उम्मेदवारको तर्फबाट खटिएका प्रतिनिधिहरूले विरोध जनाएका हुन्।
‘एउटा केन्द्रका मतदान अधिकृतले दुई वटा मतपेटिकामा आधा र आधा जस्तो मतपत्र संकलन गर्नुभएको रहेछ, हामीलाई थाहा थिएन, केन्द्रको मत गणना गर्दै जाँदा खसेको मत अनुसार पुगेन। किन यसो भयो भनेर खोजी गर्दा अर्को बाक्सा भण्डारमै छुटेको रहेछ,’ उनले भने, ‘सामान्य प्राविधिक विवाद हो, तर के भयो, कसो भयो? भनेर केहि उम्मेदवारका प्रतिनिधिले विवाद गर्नुभयो।’
विवाद समाधान गरेर मतगणना सुरू गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।
मतगणनामा खटिएका प्रतिनिधि राकेश महतो कंकरले पटेर्वासुगौली गाउँपालिका वडा नं ४ मा खसेको मत मध्ये ७४५ मत हराएकोले विरोध जनाइएको प्रतिक्रिया दिए।
‘क,ख,ग, घ गरेर चार वटा केन्द्रमा २ हजार ९७९ मत खसेको थियो, मत गणना गर्दा ७४५ मत हराएको पाइयो,’ उनले भने, ‘शंकास्पद लागेपछि विरोध जनाएका हौं।’