दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्।
सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्।
उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दामोदर भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्।
कमल सुवेदीको जन्म दाङकै दंगीशरण गाउँपालिका–४ मौलीको एउटा सामान्य किसान परिवारमा २०४४ मंसिर १६ गते भएको थियो।
उनको प्रारम्भिक शिक्षा गाउँकै लक्ष्मीनारायण प्रावि र वीरेन्द्र मावि हेकुलीबाट सुरू भयो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि उनले क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयमा अध्ययन गरे। त्यहाँबाट 'डेभलपमेन्ट लिडरसिप' मा डिप्लोमा गरे।
हालसम्म विश्वका ४५ देशको भ्रमण गरिसकेका ३८ वर्षीय सुवेदीले भने, 'मैले विदेशका विकास र सुशासनलाई नजिकबाट नियालेको छु। म सार्वजनिक प्रशासन र नीति निर्माणको क्षेत्रमा एक अन्तर्राष्ट्रिय विज्ञ तथा विश्लेषक पनि हुँ।'
अविवाहित कमलले आफ्नी स्वर्गीय आमाको स्मृतिमा 'विष्णुदेवी फाउन्डेसन' स्थापना गरी गरिब र असहायका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन्। २०७२ को भूकम्प र कोभिड–१९ को महामारी बेला पीडितको राहतमा काम गरेको उनी बताउँछन्। अहिले पनि उक्त फाउन्डेसनको नामबाट एम्बुलेन्स सञ्चालन भइरहेको छ।
पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरे बजारमा रहेको 'सामुदायिक रेडियो हापुरे' को स्थापना कमलकै अग्रसरतामा भएको हो।
एक दशकसम्म युवा महासंघको नेतृत्व गरेका सुवेदीले हजारौं युवालाई स्वदेशमै भविष्य खोज्न प्रेरित गरेको दाबी गर्छन्।
पुरानो राजनीतिक विरासतले देश बनेन भन्ने ठम्याइका साथ २०७९ मा वैकल्पिक राजनीतिमा होमिएका सुवेदीले २०७९ मा पनि दाङ–३ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए। त्यतिखेर कांग्रेसका दीपक गिरी निर्वाचित हुँदा उनले १५ हजार ३२६ मत प्राप्त गरेका थिए।
रास्वपाको स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा पार्टीको विचार र सिद्धान्त निर्माणमा खटिएर काम गरेको अनुभव पनि उनीसँग छ।