यातायात र ट्राफिक व्यवस्थापनको विज्ञ आशिष गजुरेलको भूमिका अब सांसदको पनि हुने भएको छ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट सिन्धुली २ बाट पाएका थिए।
उनले नेकपाका प्रभावशाली उम्मेदवार लेखनाथ दाहालसँगको कडा प्रतिस्पर्धामा जित हासिल गरेका हुन्।
गजुरेलले १७९४० मत प्राप्त गर्दै संसदमा इन्ट्री मार्ने भएका हुन्। गजुरेलले नेकपाका दाहाललाई तीन हजार बढी मतले पछाडि पारे।
बीचमा मतगणनामा केही पछि परे पनि गजुरेलले अन्त्यमा जित निकाल्न सफल भए। निकटतम प्रतिस्पर्धी दाहालले १४,७८० मत प्राप्त गरे।
यहाँ एमालेका मनोज जंग थापाले ११६०६ मत र कांग्रेस सुशिला थिङले ६७६० मत प्राप्त गरे।
यसअघि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को महासचिव भएर काम गरेका उनी यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ हुन्। इन्जिनियर गजुरेलले नेपालको यातायत क्षेत्रमा चाहिने सुधारको विषयमा लेखमार्फत् अभियान नै चलाउँदै आएका छन्।
नेपालमा हुने सडक दुर्घटना र त्यसबाट बच्न सकिने उपायको विषयमा उनले आफ्ना धारणा राख्दै आएका छन्।
उनले जर्मनीको म्युनिखस्थित टेक्निकल युनिभर्सिटीबाट मास्टर्स इन ट्रान्स्पोटेशन सिस्टम पढेका थिए।
रास्वपाले उनलाई यातायात र आपूर्ति व्यवस्थापनमा दख्खल भएको व्यक्तिको रुपमा लिएको छ। सडक सुरक्षा विज्ञ र यातायात बेथितिविरुद्धका प्रखर लेखकका रुपमा चिनिएक उनलाई अब रास्वपाले राष्ट्रिय गौरवका आयोजनाका कुशल रणनीतिकार र प्राविधिक नेतृत्व मानेको छ।