नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामबारे प्रतिक्रिया जनाउँदै यसको दोष कसैलाई थोपरेर उम्किने ठाउँ नभएको बताएका छन्।
'निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ,' पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, 'जनताले दिएको सन्देश स्पष्ट छ — अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।'
उनले यो परिणामबाट पार्टीका कार्यकर्ताहरूलाई निराश नहुन पनि आग्रह गरेका छन्।
'जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ। आफ्ना गल्तीहरू सच्याउने साहस, नेतृत्वको शैलीमा परिवर्तन र कार्य पद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौं,' उनले भनेका छन्।
पाण्डेले शानदार नतिजाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विजेताहरूलाई बधाई पनि दिएका छन्।