दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक निर्वाचित भएका छन्।
पाठकले ४२ हजार ६०२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २८० मत ल्याएका छन्। उनीहरूको मतान्तर २७ हजार ३२२ छ।
यहाँ नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ९६५ मत ल्याए।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३८४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
यो निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार मतदाता रहेकोमा ८० हजार ९५९ मत खसेको थियो।
दाङ–१ बाट विजयी देवराज पाठक २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाका उम्मेदवार थिए। त्यति बेला उनले १३ हजार ७९८ मत प्राप्त गरेका थिए।
स्नातक उत्तीर्ण पाठक पूर्वशिक्षक हुन्। गणित विषय पढाउने पाठकले स्वैच्छिक अवकाश रोजेका थिए।
२०७९ को स्थानीय तह निर्वाचन क्रममा पाठकले गढवा गाउँपालिकाको उम्मेदवार बन्ने चाहना कांग्रेस पार्टीमा व्यक्त गरेका थिए। तर उनलाई नेपाली कांग्रेसले टिकट दिएन। त्यसै वर्ष असार ७ गते रास्वपाको स्थापना भयो। उनी मंसिरको चुनावअघि रास्वपामा प्रवेश गरेका थिए।
२०७९ को चुनावमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलबीच चुनावी तालमेल भएको थियो। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरी निर्वाचित भएका थिए।
यसपालि पाठकले नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री मेटमणि चौधरी लगायतलाई पराजित गर्दै आफ्नो संसदीय यात्रा तय गरेका हुन्।