मकवानपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती निर्वाचित भएका छन्।
उनले ३० हजार ५० मत प्राप्त गरे।
निकटतम प्रतिस्पर्धी नेकपा एमाले केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरे। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्ट १२ हजार ४९२ मत ल्याए।
उप्रेती निर्वाचित भएसँगै उनले ‘कान्छो सांसद’को छवि बनाएका छन्।
मनहरि गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका उप्रेती पेसाले पूर्वशिक्षक हुन्। उनी सामाजिक विषय अध्ययन गर्दै समाजसँग अन्तरघुलित भएका थिए। पठन–पाठनका अतिरिक्त सामाजिक कार्यमा क्रियाशील हुन रूचि राख्ने उनले ग्लोबल कलेज अफ् म्यानेजमेन्टबाट प्लस टूसम्मको अध्ययन पूरा गरेका हुन्। उनी अहिले काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनमा अध्ययनरत छन्।
त्यसो त उनले ब्याचलर अफ ट्राभर एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम)को अध्ययन गरेका छन्।
उनले सुरूआतमा आमा घर र सामुदायिक सचेतना नेपालमार्फत् सामाजिक कार्यको थालनी गरेका थिए। उनले मैनादेवी फाउण्डेसन तथा हन्ड्रेड ग्रुपसँग पनि आबद्ध भएर काम गरेका थिए।
उनले बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर छँदा उक्त टिमसँग पनि सहकार्य गरेर आफ्नो परिचय विस्तार गरेका थिए। यो सँगै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुँदा पनि उनको समूहसँग पनि सहकार्य गरेका थिए।
शिक्षाको गुणस्तर सुधार, युवाका लागि रोजगारीका अवसर सिर्जना, महिला सशक्तीकरण र स्थानीय तहको आवश्यकता अनुसार विकास योजना कार्यान्वयन उनले मुख्य प्राथमिकतामा राखेका छन्।
‘म बोल्ने भन्दा काम गर्नेमा विश्वास राख्छु। शिक्षा, पर्यटन र सामाजिक सेवामा गरेको प्रत्यक्ष अनुभवका आधारमा पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व प्रदान गर्ने मेरो प्रतिबद्धता छ,’ उनले चुनाव प्रचारप्रसारका क्रममा भन्ने गरेका थिए।
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ