पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीले ‘जनयुद्ध’को उद्गमस्थल मानिने रूकुम पश्चिममा पनि यसपालि आफ्नो झण्डा फहरायो।
तत्कालीन माओवादीको आधार इलाका रोल्पा, रूकुम पूर्व र पश्चिम, सल्यानमा फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाकै उम्मेदवार विजयी भए।
रूकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। नेकपाका शर्माले २१ हजार ६०९ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे।
यहाँ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरि चौथो भए।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाका गोपाल राजनीतिक रूपमा प्रलोपाका संरक्षक जनार्दनलाई गुरू मान्छन् । रूकुम पश्चिममा यी ‘गुरू–चेला’ बीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको थियो।
किनभने यसअघिसम्म जनार्दनका चुनावी सारथी गोपाल हुन्थे। तर यसपालि जनार्दनले आफ्नै पूर्वसर्वोच्च कमाण्डर ‘प्रचण्ड’ संग बिद्रोह गरि प्रलोपा गठन गरेका थिए। पार्टी भिन्दै भएपछि नेकपाले गोपाललाई उम्मेदवार बनायो। जनार्दन आफै मैदानमा उत्रिएका थिए।
नाताले भाइ गोपालले आफ्नै राजनीतिक गुरू र पटक पटक मन्त्री बनेका पूर्वअर्थमन्त्री जनार्दनको २०६४ यताको अपराजित यात्रामा यसपटक ब्रेक लगाइदिए। रूकुम पश्चिममा २०६४ यताका हरेक निर्वाचनमा जनार्दन निर्वाचित हुँदै आएका थिए।
यद्यपि उनी २०४८ सालमा पराजित भएका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनले प्रलोपाका संरक्षक जनार्दनले प्रचण्डसँग गरेको विद्रोह अनुमोदन गरेन। बरू अस्वीकार भएको सन्देश दिएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत वाम घटकको एकताप्रति असन्तुष्टि जनाउँदै जनार्दनले ‘प्रचण्ड’ संग बिद्रोह गरि साथ छोडेका थिए। जसलाई रूकुमेलीहरूले निर्वाचनको मतबाट अस्वीकार गरे।
रुकुम पश्चिममा नेकपाका गोपाल निर्वाचित हुँदा कांग्रेस दोस्रो र जनार्दन तेस्रो बन्नुले अब जर्नादनको राजनीतिक यात्रा थप कठिन हुने चर्चा हुन थालेका छन्।
फागुन २१ गतेको निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रूकुम पूर्वबाट, पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट र प्रचण्ड प्रधामनमन्त्री छँदा सचिवालयमा बसेर काम गरेका युवा रमेशकुमार मल्ल सल्यानबाट निर्वाचित भएका छन्।
जसले पूर्व माओवादीले आफ्नो पूर्वआधार क्षेत्रको रक्षा गर्न सफल भएको सन्देश दिएका छन्।