लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात जिल्लामा एकल रूपमा आफ्नो झण्डा फहराएको छ।
प्रदेशका प्रमुख सहरहरूमध्ये रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र, दाङका तीन वटै निर्वाचन क्षेत्र रास्वपाले ‘क्लिन स्वीप’ गर्यो। रास्वपाले प्रदेशका प्रमुख सहरहरूमध्ये रूपन्द्रेहीका ५ वटै निर्वाचन क्षेत्र, दाङका ३ वटै निर्वाचन क्षेत्र, नवरपरासी पश्चिमका २ वटै निर्वाचन क्षेत्र, गुल्मीका २ वटै निर्वाचन क्षेत्र, बर्दियाका २ वटै निर्वाचन क्षेत्र जित्यो। त्यस्तै १ निर्वाचन क्षेत्र भएका अर्घखाँची र प्यूठान पनि रास्वपाले जित्यो।
लुम्बिनीको अर्को प्रमुख सहर बाँकेका ३ मध्ये २ वटा निर्वाचन क्षेत्र, कपिलवस्तुका ३ मध्ये २ वटा निर्वाचन क्षेत्र र पाल्पाका २ निर्वाचन क्षेत्रमध्ये १ निर्वाचन क्षेत्र रास्वपाले जितेको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सार्वजनिक अन्तिम नतिजा अनुसार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल र एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल भारी मतान्तरसहित पराजित भएका छन्।
यी दुवै नेताले सँगै २०५१ सालमा जितेका थिए। उपाध्यक्ष विष्णु २०५१ सालको संसदीय निर्वाचन पाल्पा–१ बाट जितेका थिए। त्यस्तै, महासचिव शंकरले पनि त्यही बेला दाङको क्षेत्र नं. ३ (तुलसीपुर पश्चिम) बाट निर्वाचन जितेका थिए। विष्णु २०५६ सालमा पाल्पा झरेर निर्वाचन लडेका थिए। तर, उनी त्यस पटक पराजित भएका थिए। त्यो बाहेकका अन्य चार वटा निर्वाचन भने विष्णुले रूपन्देहीबाटै जितेका थिए।
यसपालि पाँचौं जित निकाल्ने उनको प्रयास सफल हुन सकेन। २०५१ सालदेखि संसदीय निर्वाचन लड्दै आएका विष्णुले २०५६ र २०८२ गरी दुई पटक हार बेहोरे।
दाङ–२ बाट चुनाव लडेका एमाले महासचिव शंकरले भने २०५१ सालको निर्वाचन बाहेक अन्य प्राय निर्वाचनमा हार बेहोरेका थिए। २०५६ मा पराजित भए। २०६४ मा समानुपातिक सांसद बने। २०७० मा फेरि पराजित भए। २०७४ मा वाम गठबन्धन छँदा २ (ख) बाट निर्वाचित भएपछि लुम्बिनीको मुख्यमन्त्री बने। अस्थायी राजधानी बुटवलबाट दाङको देउखुरीमा राजधानी ल्याए। २०७९ मा माओवादीकी रेखा शर्मा खड्कासँग पराजित भए। यतिखेर रास्वपासँग फेरि पराजय बेहोरे।
रूपन्देही–२ बाट रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भारी मतान्तरले पराजित गरे। यहाँ खरेलले ५६ हजार ५ सय ५० मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे। यी दुई बीचको मतान्तर ४३ हजार ६ सय ८९ रहेको छ।
दाङ–२ मा एमाले महासचिव पोखरेल रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग पराजित भए।
रास्वपाका सहमहामन्त्री आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्दा एमालेभित्र प्रभावशाली महासचिव पोखरेलले १५ हजार २ सय ८७ मत प्राप्त गरे। लुम्बिनीका पहिलो मुख्यमन्त्री पोखरेल भन्दा रास्वपाका सहमहामन्त्री आचार्यले २८ हजार २ सय ७२ मत बढी प्राप्त गरेका थिए।
यसअघि २०५१ सालमा संघीय सांसदको निर्वाचन जितेका एमाले महासचिवले त्यसयता सबै निर्वाचनमा पराजय बेहोरे।
गुल्मी–२ मा एमालेका अर्का उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट रास्वपाका गोविन्द पन्थीसँग पराजित भए। उनको पराजय तुलनात्मक रूपमा झिनो मतान्तरले भयो।
पन्थी १६ हजार ९ सय ६७ मत प्राप्त गरी विजयी हुँदा एमाले उपाध्यक्ष विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरे। उनीहरूका बीचमा जम्मा ५ सय ६१ को मात्रै मतान्तर छ।
त्यस्तै गुल्मी–१ बाट एमालेभित्र प्रभावशाली मानिने अर्का नेता केन्द्रीय सदस्य प्रदीप ज्ञवाली पराजित भए।
यहाँ पनि रास्वपाका सागर ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरेका थिए। उनीहरूका बीचमा १४ हजार ४ सय ८१ मतान्तर थियो।
लुम्बिनीमा पार्टीको तर्फबाट मुलुकमै पहिलो खाता खोल्ने र प्रदेशमै पार्टीको साख जोगाउने एक्ला व्यक्ति बाँके–२ बाट निर्वाचित मोहमद इस्तियाक राई हुन्।
यो निर्वाचनमा पनि राईले अन्तिममा एक हातमा एमालेको पार्टी सदस्यता र अर्को हातमा टिकट लिएर मैदानमा उत्रिएका थिए। उनले लुम्बिनीमा एमालेको साख जोगाइदिए। एमाले प्रवेश गर्नुअघि राई जनता समाजवादी पार्टी नेपालमा थिए।
राइर्लले रास्वपाका विवेककुमार श्रेष्ठलाई ५ हजार ९ सय ४६ मतान्तरले पराजित गरेका हुन्। एमाले नेता तथा पूर्वमन्त्री राईले २४ हजार ६ सय २८ मत प्राप्त गरेका थिए भने पराजित हुने रास्वपाका श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे।
यसपटक एमालेबाट निर्वाचित राई यसअघि बाँके–२ बाटै २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधि सभामा भने उनी पराजित भएका थिए।
लुम्बिनीका १२ जिल्लामा २६ सिटका लागि भएको प्रतिस्पर्धामा नेपाली कांग्रेसले दुई सिट मात्रै जित्यो। पाल्पा–१ मा काँग्रेसका सन्दीप राना र कपिलवस्तु– ३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजय भए।
लुम्बिनीमा पुराना दलहरूले ठूलो क्षति बेहोर्दा नेपाली कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रूकुम पूर्वबाट र पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट निर्वाचित भएर साख जोगाए।
यी हुन रास्वपाले जितेका २६ मध्ये लुम्बिनीका २१ ठाउँ
- दाङ – १ मा देवराज पाठक
- दाङ –२ मा विपिनकुमार आचार्य
- दाङ –३ मा कमल सुबेदी
- रूपन्देही – १ मा सुनिल लम्साल
- रूपन्देही – २ मा सुलभ खरेल
- रूपन्देही – ३ मा डा. लेखजंग थापा
- रूपन्देही – ४ मा कन्हैया बनियाँ
- रूपन्देही – ५ मा तौफिक अहमद खान
- नवलपरासी पश्चिम – १ मा विक्रम खनाल
- नवलपरासी पश्चिम – २ मा नरेन्द्रकुमार गुप्ता
- पाल्पा – २ मा माधवबहादुर थापा
- अर्घाखाँची – १ मा हरिप्रसाद भुसाल
- गुल्मी – १ मा सागर ढकाल
- गुल्मी – २ मा गोबिन्द पन्थी
- प्यूठान – १ मा सुशान्त वैदिक
- कपिलबस्तु – १ मा मोहनलाल आचार्य
- कपिलबस्तु – २ मा बिक्रम थापा
- बाँके – १ – सुरेशकुमार चौधरी
- बाँके – २ – खगेन्द्र सुनार
- बर्दिया – १ – ठाकुरसिंह थारु
- बर्दिया – २ – श्रीधर पोखरेल