हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जितेको छ।
सोमबार बिहान १०:२४ बजेसम्मको मतगणना अनुसार ८२ लाख ८३ हजार ९१७ मत गणना हुँदा श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ८३३ मत पाएको छ।
श्रम संस्कृतिले पाएको मत हाल गणना सकिएको मतको ३.४९ प्रतिशत हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिलेसम्म २ लाख ७४ हजार ८१४ मत पाएको छ। राप्रपाले प्राप्त गरेको मत हालसम्म गणना भएको मतको ३.१७ प्रतिशत हो।
यसअनुसार श्रम संस्कृतिले हालसम्म राप्रपाभन्दा १५ हजार १९ बढी मत पाएको छ।
यी दुवै दलले हालसम्म गणना भएको मतको तीन प्रतिशत मत प्राप्त गरेका छन्।
गणना सम्पन्न हुँदासम्म तीन प्रतिशत कायम नराखे राष्ट्रिय दल कायम रहँदैनन्।
निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। निर्वाचनको 'ट्रेण्ड' हेर्दा ५ लाख हाराहारीमा मत बदर हुने देखिन्छ।
यो हिसाबमा राष्ट्रिय दलको मान्यता पाउन ३ लाख १२ हजार हाराहारिमा मत प्राप्त गर्नुपर्नेछ। अब संखुवासभा, इलाम-१, अछाम-२, बाजुरा, गोरखाको दुबै क्षेत्र, धनुषाको १ र २ गन्न बाँकी छ।
प्रत्यक्षतर्फ पनि श्रम संस्कृति पार्टीले तीन सिट जितिसकेको छ।
भोजपुरमा ध्रुवराज राई, सुनसरी-१ हर्कराज राई र खोटाङमा आरेन राई निर्वाचित भइसकेका छन्। इलाममा श्रम संस्कृतिकै विनोद नेम्बाङले कांग्रेसका निश्कल राईलाई टक्कर दिइरहेका छन्।
राप्रपाले भने प्रत्यक्षमा एउटा सिट मात्रै जितेको छ। जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै प्रत्यक्षबाट चुनाव जिते।