इलामका दुई निर्वाचन क्षेत्रबाट पुरानो दलका उम्मेदवार निर्वाचित भएका छन्।
इलाम १ बाट नेपाली कांग्रेसका उम्मेदवार ३५ वर्षीय निश्कल राई र इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भएका हुन्।
लामो समयदेखि एमालेको गढ मानिने इलाम १ मा २०४८ यता कांग्रेसले जितेको यो दोस्रो पटक हो।
यसअघि २०५६ मा झलनाथ खनाललाई कांग्रेसका बेनुपराज प्रसाईंले पराजित गरेका थिए। त्यसबेला एमाले विभाजित बनेर माले पनि प्रतिष्पर्धामा थियो।
२०७९ मा एमालेकै महेश बस्नेतले एमालेबाटै विभाजित बनेर बनेको एकीकृत समाजवादीबाट उठेका उनै खनाललाई हराएका थिए। खनाललाई त्यसबेला कांग्रेस, माओवादीको समर्थन थियो। गठबन्धनका बाबजुद एमालेका बस्नेत निर्वाचित भएको यो क्षेत्रमा यसपटक सबै दलहरू एक्लाएक्लै लड्दा एमाले तेस्रो स्थानमा खुम्चिएको छ।
यहाँ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ्ग लिम्बु दोस्रो बनेका छन्। उनले १३ हजार ६३२ मत पाएका छन्।
तेस्रो बनेका एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत पाउँदा चौथो बनेका रास्वपाका विमल गदालले ९ हजार १६० मत पाएका छन्।
२०७४ मा प्रदेशसभा सदस्य रहेका एमालेका कागते २०७९ मा प्रदेशसभा छाडेर सूर्योदयको मेयर लड्न गएका थिए। त्यसेबला उनी एकीकृत समाजवादीका रणबहादुर राईसँग पराजित भए।
यसपटक कागते र रणबहादुर सहितका अनुभवी उम्मेदवारहरूको चुनौति पन्छाउँदै कांग्रेसका निश्कलले प्रतिनिधिसभा यात्रा निश्चित गरे।
इलाम १ कांग्रेस प्रादेशिक समितिका सभापतिसमेत रहेका निश्कल अर्थशास्त्रमा एमफिल अध्ययनरत छन्। व्यावसायिक व्यवस्थापन (एमबिएम) मा स्नात्तकोत्तर निश्कल शंकरदेव क्याम्पसमा पढ्दै नेविसंघमा सक्रिय थिए।
तीन वर्षभन्दा बढी समय शंकरदेव क्याम्पसमा पढाएका उनी इलाम फर्केर कांग्रेसको राजनीतिमा सक्रिय थिए। कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री र इलामकै सांसद शमशेर राई आन्तरिक मामिलामन्त्री बनेका बेला उनले आन्तरिक मामिला मन्त्रालयमा कार्यक्रम निर्देशक बनेर काम गरेका थिए।
‘राजनीति मेरो लागि पद होइन, जिम्मेवारी र पुस्तान्तरणको पुल हो,’ उनले भने, ‘जहाँ जेनजी पुस्ताको आकांक्षा र बुढा आमा–बुबाको अनुभूति एकआपसमा जोडिन्छ।’
उनले इलामको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्नु नै आफ्नो मूल प्रतिबद्धता भएको बताएका छन्।
‘इलाम केबल भूगोल होइन, इतिहास, श्रम र संस्कृतिको संगम हो। सन्दकपुरदेखि माईसम्म हिँड्दा मैले किसान, युवा, श्रमिक, विद्यार्थी, कर्मचारी र उद्यमीका सम्भावना र संघर्ष नजिकबाट देखेको छु र नीति, योजना तर्जुमा गर्ने देखि लिएर कार्यान्वयन सम्मको अनुभव बटुलेको छु,’ उनले भने।
इलामबाटै संसदमा दोहोरिएर पुगेका अर्का सांसद हुन्- नेकपा एमालेका सुहाङ नेम्बाङ।
पछिल्लो २२ महिनाका बीचमा इलाम २ बाट दोस्रो पटक चुनाव जितेका उनले आफ्ना बुबाको राजनीतिक विरासत पनि जोगाएका छन्।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा सुहाङ एमालेको उम्मेदवार बनेर खडा भएका थिए।
२०७९ मा सुवास नेम्बाङसँग झिनो अन्तरले पराजित कांग्रेस इलाम सभापति डम्बर खड्का उपनिर्वाचनमा उम्मेदवार बनेका थिए।
२०८१ मा भएको उपनिर्वाचनमा सुहाङलाई इलाम २ ले उनका बुबालाई भन्दा धेरै मत दिएर जिताएको थियो।
२०७९ मा आफ्ना बुबाले झिनो मतान्तरले हराएका कांग्रेसका खड्कालाई उपनिर्वाचनमा सुहाङले ५ हजार ८ सय ३० मतान्तरले पछि पारेका थिए।
उपनिर्वाचनमा सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्का दोस्रो, मुढा चिन्ह लिएर स्वतन्त्र उठेका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम तेस्रो भएका थिए।
उपनिर्वाचनबाट सुहाङ संसद पुगेको १६ महिनापछि गएको भदौ २३ र २४ को जेनजी आन्दोलनले संसद विघटन भयो।
२२ महिनापछि फागुन २१ मा पुनः निर्वाचन भयो।
इलाम २ का मतदाताले ३६ वर्षे सुहाङलाई २२ हजार ४ सय २६ मत दिएर फेरि संसदमा पठाएका छन्।
यसपटक सुहाङका निकटतम प्रतिस्पर्धी कांग्रेसका भेषराज आचार्य १४ हजार ६ सय ५० मतमा रोकिए।
काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका सुहाङ काठमाडौंकै जगत मन्दिर स्कुलबाट एसएलसी उत्तिर्ण गरेका हुन्।
ज्ञानोदय बालवाटिका स्कुलबाट १२ कक्षा पढेर उनले अढाइ वर्ष अष्ट्रेलियामा पढेका थिए। काठमाडौं स्कुल अफ लबाट एलएलबी गरेका उनले बाबुकै पदचाप पछ्याउँदै कानुनी अभ्यास थालेका थिए।
‘कान्तिपुर ल असोसिएट्स एण्ड रिसर्च सेन्टर’ मार्फत वाणिज्य तथा संवैधानिक मामिलामा वकालत गर्दै आएका उनले बुबाको निधनपछि उपनिर्वाचनको टिकट पाएका थिए।
त्यसपछि सदन पुगेका उनी एमालेको पछिल्लो महाधिवेशनमार्फत पार्टी केन्द्रीय सदस्यसमेत चुनिएका छन्।
‘इलाम २ का मतदाताले दोहोर्याएर मलाई विश्वास गर्नुभएको छ, यसप्रति म आभारी छु’ बुबा सुवास जसरी नै शान्त सुनिने उनले भने, ‘इलामको आवाज यसअघिझैं सदनमा उठाउन म सदा तत्पर रहनेछु।’