फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दाङमा उम्मेदवार बनेका ६० जनामध्ये ५१ जनाको जमानत जफत भएको छ।
३० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्।
निर्वाचन क्षेत्र दाङ– १ मा १२ जना, दाङ– २ मा २० जना र दाङ– ३ मा १९ जना उम्मेदवारले धरौटी जोगाउन सकेनन्।
निर्वाचन नियम अनुसार उम्मेदवारले आफ्नो क्षेत्रमा सदर मतको कम्तीमा १० प्रतिशत जनमत प्राप्त गरेको हुनुपर्छ। त्यो मत प्राप्त गर्न नसक्नेहरूको मनोनयन दर्ताको क्रममा राखेको धरौटी जफत हुने कानुनी प्रावधान छ।
सोही प्रावधान अनुसार दाङका ३ क्षेत्रका ६० उम्मेदवारमध्ये ५१ उम्मेदवारको जमानत जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले सेतोपाटीलाई बताए।
माघ ६ गते उम्मेदवारी दर्ता गर्दा दलित र महिलालाई ५० प्रतिशत छुटको व्यवस्था थियो। उनीहरूले ५ हजार रूपैयाँ धरौटी तिरेर उम्मेदवारी दिएका थिए भने ती बाहेकाले उम्मेदवारी दर्ता गर्दा दस हजार रूपैयाँ धरौटी बुझाएका थिए।
दाङका तीन निर्वाचन क्षेत्रमध्ये क–कस्को जमानत जफत भयो?
दाङ– १
दाङ–१ मा जमानत बचाउन उम्मेदवारले गणना भएको ८० हजार ४४६ मतमध्ये सदर मत ७६ हजार ३८९ को १० प्रतिशत अर्थात ७ हजार ६३९ मत ल्याउनुपर्थ्यो। त्यो भन्दा कम मत प्राप्त गर्नेको जमानत जफत भएको छ। यहाँ चार हजार ५७ मत बदर भएको थियो।
यहाँ निर्वाचित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले ४२ हजार ६९२ मत प्राप्त गरेका थिए। दोस्रो हुने नेपाली कांग्रेसका उम्मेदवार चौधरीले १५ हजार २८० मत प्राप्त गरेका थिए।
१४ उम्मेदवारमध्ये यो निर्वाचन क्षेत्रबाट जमानत जफत हुनेमा १२ जना छन्।
एमालेका उम्मेदवार रेवतिरमण शर्मा घिमिरे (मत संख्या ६,८२५) , नेकपाका उम्मेदवार एवं पूर्वमन्त्री मेटमणि चौधरी (४,९६५), नेकपा माओवादी का प्रकाश शाही (१,४७२), स्वतन्त्र उम्मेदवार एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (१,३८४), राप्रपाका विनय बिसी (१,२९२), राष्ट्रिय जनमोर्चाका गणेश आचार्य (१,०७७), स्वतन्त्र उम्मेदवार मनिकराम यादव (१००८) छन्।
जनमत गुमाउने अन्यमा नेशनल रिपब्लिक नेपालका मिनबहादुर ठेडी मगर (१९३), मंगोल नेसनल अर्गनाइजेसनका खुमबहादुर गाहा मगर (१४१), जनता समाजवादी नेपालका भरतलाल चौधरी (८१), आम जनता पार्टीका सिताराम यादव (४७) र (२१) मत मात्रै प्राप्त गरेका राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरी थिए।
दाङ क्षेत्र–२
यहाँ ८२ हजार ३ सय ५ मत गणना भएको थियो। त्यसमध्ये सदर मत ७९ हजार ४४० थियो। यहाँ २ हजार ८६५ मत बदर भएको थियो।
यो निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत अर्थात ७ हजार ९४४ मत उम्मेदवारले प्राप्त गर्ने उम्मेदवारले मात्रै आफ्नो धरौटी जोगाउन सके। त्यति मत ल्याउने ३ जना बाहेक अन्य २० जना उम्मेदवारको जमानत जफत भयो।
दाङ–२ बाट निर्वाचित हुने रास्वपाका विपिनकुमार आचार्यले ४३ हजार ५५९ मत प्राप्त गरेका थिए।
दोस्रो हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५ हजार २८७ र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत प्राप्त गरे। यी तीनै जनाले आफ्नो जमानत जोगाउन सफल भए।
यो क्षेत्रबाट जमानत गुमाउनेमा नेकपाका उम्मेदवार निर्मल आचार्य (७,०८३), राप्रपाका ऋषिकेश पोखरेल (७६०), मंगोल नेसनल अर्गनाइजेसनका अम्मरबहादुर बुढा (५५७) र राष्ट्रिय जनमोर्चाका मनिराम खनाल (२२६) छन्।
त्यस्तै नेसनल रिपब्लिक नेपालका जितन पुन (९२), प्रलोपाका प्रतीक अधिकारी (७४), राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपाली (४१), स्वतन्त्र उम्मेदवारहरू पद्मप्रसाद पाण्डे (३२), धर्मराज शर्मा (३१), जनता समाजवादी पार्टीका ढुण्डिराज थापा (३१), नागरिक उन्मुक्ति पार्टीका झरेन्द्रबहादुर खत्री (२८) र (२१) मत प्राप्त गरेका नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाहीको पनि जमानत जफत भयो।
मितेरी पार्टी नेपालका रेखबहादुर पुन (९), आम जनता पार्टीका कृष्णबहादुर सनार (७), विष्णुकुमारी भुसाल (११), बालाराम पौडेल र कल्पना लामा (९/९), लालबहादुर खत्री (७), समीर वली र समान (४/४), विष्णुविक्रम सेन वलीको पनि जमानत जफत भएको छ।
दाङ–३
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नम्बर ३ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ। यहाँ गणना भएको ८८ हजार ६१७ मत थियो। तीन हजार ७७६ मत बदर भएको थियो।
जमानत बचतका लागि गणना भएको मतमध्ये सदर मत ८४ हजार ८४१ थियो। त्यसको १० प्रतिशत ८ हजार ४८५ मत हुन्छ। यति मत प्राप्त गर्ने उम्मेदवारले मात्रै आफ्नो जमानत जोगाउन सके।
निर्वाचित रास्वपाका कमल सुबेदीले ४४ हजार २४८ मत प्राप्त गरेका थिए।
दोस्रो हुने नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १६ हजार ४५३, नेकपा एमालेका घनश्याम पाण्डेयले १२ हजार १९५ र नेकपाका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरे। उनीहरूको जमानत बच्यो।
यी बाहेक अन्य १९ जना उम्मेदवारको धरौटी जफत भएको छ।
धरौटी जफत हुने उम्मेदवारमा राप्रपाका दामोदर भण्डारी (१,०५७), नेकपा माओवादीका बलबहादुर वली (४२५), श्रम संस्कृति पार्टीका टोपबहादुर महतरा (२२७), नेसनल रिपब्लिक नेपालका प्रितम चौधरी (१८१), राष्ट्रिय जनमोर्चाकी कमला जिसी (१८०), स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेत (१५५), मंगोल नेसनल अर्गनाइजेसनका घनश्याम चौधरी (१४४) रहे।
त्यस्तै १०० भन्दा कम मत ल्याउने संयुक्त नागरिक पार्टीका दलवीर कामी (९४), नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी (५५) को जमानत पनि जफत भयो।
५० भन्दा कम मत ल्याएका जनता समाजवादी पार्टीकी शोभा डाँगी (२४), स्वतन्त्र उम्मेदवार सप्रिक कँवर (१४), स्वतन्त्र उम्मेदवार भागिराम चौधरी (११), मितेरी पार्टी नेपालका सन्तोष सिंह (१०), स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर बस्नेत (१०) को जमानत जफत भयो।
१० भन्दा कम मत प्राप्त गर्नेमा आम जनता पार्टीकी पाण्डवी नेपाली (८), स्वतन्त्र उम्मेदवार महेश डाँगी (८), स्वतन्त्र उम्मेदवार प्रेमबहादुर वली (७), स्वतन्त्र उम्मेदवार भरत परियार (६) छन्। स्वतन्त्र उम्मेदवार सुरेश नेपालीले १ मत मात्रै प्राप्त गरे।