प्रतिनिधि सभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको तयारीअनुसार चैतको पहिलो साता नयाँ सरकार गठनको प्रक्रिया सुरू हुन्छ।
त्योसँगै नयाँ संसद बैठकको प्रक्रिया पनि आरम्भ हुन्छ। निर्वाचन परिणाम आखिरी चरणमा प्रवेश गरेसँगै सिंहदरबारभित्र
निर्माणाधीन नयाँ संसदन भवनका बाँकी रहेका कामलाई तीव्रता दिन थालिएको छ।
सरकारी तथ्यांकअनुसार हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको छ।
२०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन। तर प्रतिनिधिसभा निर्वाचनबाट चुनिने सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने गरी अहिले जोडतोडका साथ काम चलिरहेको छ।
प्रतिनिधिसभाको बैठक कक्ष बस्ने हल निर्माणको काम धमाधम भइरहेको छ।
निर्माणाधीन हलमा केही सिट समेत राखिएका छन्। अहिले हललाई ‘साउण्ड प्रुफ’ बनाउने काम भएको छ। तर हलको सिलिङको काम अझै सकिएको छैन। सिलिङको काम नसकिँदा विद्युत जडान, एसी र माइक सिस्टम राख्ने काममा विलम्ब भएको छ। भवन परिसरमा भने अहिले सवारी साधनको पार्किङ निर्माण, प्रवेश गर्ने गेटमा फलामका ढोका राख्ने, तारहरू भूमिगत गर्ने लगायत काम भइरहेका छन्।
भवन ठेक्का लगाउँदा यसको लागत ५ अर्ब ६७ करोड २७ लाख रूपैयाँ लाग्ने अनुमान थियो।
पाँच पटक म्याद थप गर्दा अहिले लागत ६ अर्ब ३० करोड पुगेको छ। निर्माण कार्य बाहेक संसद भवनभित्रको साजसज्जा र माइक सिस्टम जडानका लागि २ अर्ब ३४ करोडको छुट्टै काम भइरहेको छ। दुवै कामको ठेक्का रकम जोड्दा भवनको लागत ८ अर्ब ६४ करोड पुग्ने देखिएको छ।
निर्माणाधीन संसद परिसरमा दलका कार्यालय, सचिवालय भवन, सुरक्षाकर्मीको भवन, अन्डरग्राउन्ड पार्किङ लगायतका संरचना बनेका छन्।




-ink-1773116794.jpeg)

















