नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र देखिएको अन्यौल र नैराश्यप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले निर्वाचन परिणामपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) पङ्क्तिमा अन्यौल र निराशा देखिएको उल्लेख गरेका छन्। प्रतिकूल परिणामका बीच यस्ता प्रतिक्रिया अस्वाभाविक नभएको उनको भनाइ छ।
उनले यसपटकको परिणामलाई पार्टी इतिहासकै गम्भीर धक्कामध्ये एक भएको बताएका छन्।
निर्वाचनअघि पार्टीले असहज परिस्थितिको सामना गर्नुपरेको, पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएको, दुई सयभन्दा बढी नेता–कार्यकर्ताका घरमा आक्रमण भएको तथा पार्टी कार्यक्रमहरूमा धम्की, अवरोध र आक्रमण भएको अवस्था रहेको उनले उल्लेख गरेका छन्।
‘निर्वाचन परिणामसँगै नेकपा (एमाले) पङ्क्तिमा एकखालको अन्यौल र नैराश्य देखा परेको छ । प्रतिकूल परिणामका बीचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन्। हामीले व्यहोरेको धक्का इतिहासकै गंभीरतम मध्येको हो,’ उनले भनेका छन्।
यस्तो परिस्थितिका बीच निर्वाचनमा सहभागी हुनु लोकतन्त्रप्रतिको निष्ठा र जनताप्रतिको भरोसाको दृष्टान्त भएको उनको दाबी छ। उत्कृष्ट नतिजाको अपेक्षा नभए पनि यति ठूलो धक्का आउने अनुमान भने नगरेको उनले बताएका छन्।
‘एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो,’ उनले भनेका छन्, ‘तर यस्तो धक्काको अनुमान भने थिएन। फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ।’
ज्ञवालीका अनुसार वर्तमान परिस्थितिमा पार्टीभित्र नीतिगत, संरचनागत, शैलीगत र नेतृत्वसम्बन्धी विषयहरूको वस्तुनिष्ठ र गहन समीक्षा आवश्यक छ। समीक्षा नगरी अरूमाथि दोषारोपण मात्रै गरिए संकट झन् गहिरिँदै जाने उनको बुझाइ छ।
उनले अहिलेको परिणामलाई कम्युनिस्ट आन्दोलन मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनकै संकटका रूपमा हेर्नुपर्ने बताएका छन्। साथै नयाँ पुस्तासँग पार्टीको संवाद कमजोर भएको र विश्वास स्थापित हुन नसकेको स्वीकार गरेका छन्।