नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताएका छन्। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैलाई धोका दिनु भएको उनको ठहर छ।‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने
नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘एमालेको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि “सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैलाई धोका दिनु हो।’
अन्तर्घातले ५– १० हजार मत तल–माथि पर्नसक्ने बताउँदै देखिएको ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान भएको उनले बताएका हुन्।
‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौं र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ,’ उनले भनेका छन्।
हालै भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले पराजय व्यहोरेपछि पार्टीभित्र अनेक कोणबाट बहस–विमर्श भइरहेका छन्।