नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्। चुनावमा पराजय व्यहोरेपछि एमाले नेताहरू एकार्काविरूद्ध आलोचना गर्न थालेका छन्।
संस्थापनइतर समूहका नेताहरूले पार्टी नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने धारणा राखिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरू नेतृत्वको प्रतिरक्षामा देखिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकमा रहेकाले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने बताएका छन्।
‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ। सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ। यो समय हामी सबैका लागि पनि शोकको घडी हो। यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ। यस बीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ,’ उनले भनेका छन्।
उनले नेताहरूविरूद्ध घृणाजन्य अभिव्यक्ति दिन नक्कली फेसबुक खाताहरू सक्रिय रहेको बताएका छन्।
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नुसबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्त्वको कार्यभार रहेको भट्टराईको भनाइ छ।
‘यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रिया मार्फत् तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ। फेरि पनि भन्छु आत्मभर्त्सना होइन जमेर आत्मसमीक्षा गरौं,’ उनले भनेका छन्।