नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारण पत्ता लगाएर प्रतिवेदन केन्द्रीय कार्यालय पठाउन मातहत समितिहरूलाई परिपत्र गरेको छ।
महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई फागुन २९ गते परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेदवार पराजित भएकोले त्यसको कारण पत्ता लगाएर पठाउन परिपत्र गरेका हुन्।
उम्मेदवारहरूले पनि समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ।
‘फागुन २१ गतेको निर्वाचन पश्चात प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो तर्फबाट विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउनु हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।
कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।
कांग्रेसले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन तथा पार्टीको समानुपातिक मत वृद्धि गर्न निर्वाह गरेको भूमिकालाई धन्यवाद दिएको छ।
‘पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरेअनुसार आउन नसकेको यथार्थ हामी सबैका लागि आत्मसमीक्षाको विषय बनेको छ। निर्वाचन परिणामसमेत प्रकाशित भइसकेको वर्तमान अवस्थामा प्रदेश, जिल्ला र उम्मेदवारहरूले देहाय बमोजिमको कार्य तत्काल सम्पन्न गर्नु हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।
प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन पनि कांग्रेसले परिपत्र गरेको हो।
‘यदि उक्त समितिहरू गठन भई नसकेको भए सम्बन्धित जिल्ला तथा प्रदेश कार्यसमितिले अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क मोबाइल नम्बर सहितको विवरण आधिकारिक रूपमा केन्द्रीय कार्यालयमा पठाउनु हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।
अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन पनि कांग्रेसले आग्रह गरेको छ।