राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले बसिरहेको छ।
समानुपातिक तर्फको सांसद सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बसिरहेको छ।
बैठकमा सभापति रवि लामिछाने भर्चुअल रूपमा सहभागी छन्। उनी स्वास्थ्यका कारण बैठकमा जान सकेका छैनन्।
त्यस्तै बैठकमा निर्वाचनअघि रास्वपा प्रवेश गरेका बालेन शाहको टिमका पदाधिकारी पनि सहभागी छैनन्।
बालेनको टिमबाट निर्वाचनअघि रास्वपामा दुई पदाधिकारी थपिएका थिए। महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेप शाह पदाधिकारीमा समेटिएका थिए।
तर उनीहरु सचिवालयको जारी बैठकमा सहभागी छैनन्।
बालेन टिमबाट पदाधिकारी बनेका सहमहामन्त्री भूपदेव शाहले रास्वपाको केन्द्रीय समिति बैठकबाट आफूहरूको नाम अनुमोदन हुन बाँकी भएकाले सचिवालय बैठकमा सहभागी नभएको बताए।
‘उपसभापतिज्यूले केन्द्रीय मितिबाट नाम अनुमोदन बाँकी छ भन्ने जानकारी गराउनुभयो’, शाहले सेतोपाटीसँग भने, ‘केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर हुनुहुन्छ। सबैजना अहिले काठमाडौं आउन सम्भव नभएकाले बैठक बसेको छैन। हाम्रो नाम अनुमोदन भएपछि हामी बैठकमा सहभागी हुन्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा पनि सुनिल र भूपदेवको नाम पदाधिकारीका रूपमा समेटिएको छैन। तर बालेन शाहलाई भने वरिष्ठ नेताका रुपमा उल्लेख गरिएको छ। निर्वाचनमा जानुअघि बालेन पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए।