जनमत पार्टीको महाधिवेशन सरेको छ।
यसअघि चैत २० र २१ गतेलाई तय भएको महाधिवेशन निर्वाचनका कारण तयारी नपुगेको भन्दै आगामी असोज ९ र १० गते हुने गरी सारिएको महासचिव चन्दन सिंहले जानकारी दिए।
‘२०८२ चैत २० र २१ गते हुने पार्टीको महाधिवेशन सरेर २०८३ असोज ९ र १० गते हुने भएको छ,’ उनले भने।
आज बसेको सचिवालय बैठकले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य, चुनावको क्षेत्रीयस्तरीय समीक्षा आगामी चैत ७ गतेसम्म गरी माथि पठाउन भनिएको उनले बताए।
‘चुनावी समीक्षासहितको लिखित रिपोर्टसहित तयार गरी केन्द्रीय सचिवालयमा पठाउन भनिएको छ। यस्तै जनमत पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले जिल्ला समन्वय समितिका सदस्यहरूबाट बढीमा ७ जना हुने गरी आगामी चैत १४ गतेसम्म भौतिक बैठक गरी केन्द्रीय सचिवालयबाट पठाएको प्रतिनिधिको रोहबरमा चयन गर्न पनि निर्देशन दिइएको छ,’ उनले भने।