गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलब नखाने बताएका छन्।
रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरूङले तलब नखाने बताएका हुन्।
‘म त (तलब) खान्नँ नि। किन तलब खानु र,’ सांसद नेता भएर तलब नखाने भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्, ‘नखाने, किन तलब खानु जरूरी छ र? सक्षम छौँ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि हामी नेपाल अभियानका संयोजक सुधन गुरूङ राष्ट्रिय राजनीतिमा उदाएका हुन्।
आन्दोलनपछि काठमाडौंको रिपोर्टस् क्लबमा भएको पत्रकार सम्मेलनमा उनले नेताहरूलाई तलब दिन नहुने धारणा राखेका थिए।
‘यो नेता/सेताको तलब छाड्दिऊँ ल, नराख्दिम्’, गुरूङले भनेका थिए, ‘अनि गाडीहरू हुन्छ नि लाइनै, त्यो ट्याँट्याँ र टुँ टुँ गर्छ। अब पाएन तिनीहरूले। कसैले पाएन। अब नेपाली जनताको राज हो।’
गुरूङलाई मंगलबार होटल रोयल टुलिपमा पत्रकारले गाडी प्रयोगबारे पनि प्रश्न सोधेका थिए।
जबाफमा उनले आफ्नै गाडी चढ्ने बताएका छन्।
संघीय संसद सचिवावलयले सांसदलाई प्रत्येक महिना तलब दिने गरेको भए पनि गाडी भने दिँदैन।