नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको हो।
तानसेन नगरपालिकामा १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए। ती सबै कमिटी विघटन गरिएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए।
‘अब कार्यकर्ताहरूको रोजाइ अनुसार चुस्त दुरूस्त र कामकाजी कमिटी गठन हुन्छन्,’ आत्रेयले भने।
आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन्।
नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उनले बताए।
अध्यक्ष आत्रेयले अहिले रहेको केन्द्रीय नेतृत्व परिवर्तन नहुँदासम्म पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब दिनका लागि पनि आफूले नगर र वटा कमिटी विघटन गरेको बताए।
‘यो निर्णय माथिल्ला कमिटीहरूका लागि दबाब पनि हो, अहिलेकै अवस्थाले अब पार्टी अगाडि बढ्न सक्दैन,’ उनले भने।
पाल्पा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरे सहभागी रहेको समीक्षा बैठकमा सहभागीहरूले पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने बताएका थिए।
एमाले पाल्पाका जिल्ला कमिटी सदस्य नन्दलाल भुसाल, युवा संयोजक नारायण न्यौपाने लगायतले ६५ वर्ष भन्दा माथिका सबै नेताहरूले पार्टीको नेतृत्व छोड्नुपर्ने बताएका थिए।
बैठकमा एमालेबाट उम्मेदवार बनेका गैरेले असहज अवस्थामा समेत सूर्य चिन्हमा मतदान गरेका मतदाता तथा निर्वाचनमा खटिएका पार्टीका नेता कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
समीक्षा बैठकमा जिल्लाभित्रको कारण भन्दा पनि राष्ट्रिय राजनीतिको माहौल अनुसार जनताको मत परिवर्तन भएको निष्कर्ष निकालिएको आत्रेयले बताए।
बैठकमा एमाले तर्फका उम्मेदवार ठाकुर गैरेले यो असहज अवस्थामा समेत सूर्य चिह्नमा मतदान गरेका मतदाताहरूलाई धन्यवाद ज्ञापन गरे।
गैरेले एउटा निर्वाचनमा पराजित हुँदैमा निराश नहुन आग्रह गर्दै सेवामा निरन्तर खटेर जनताको मन जित्न आग्रह गरे।
‘जनताको सेवामा लाग्न मत जित्नै पर्छ भन्ने छैन, सेवा गर्दै जनताको मन जित्न सके फेरी मतबाट पनि जित्न सकिन्छ,’ उनले भने।
बैठकमा जिल्ला र प्रदेश स्तरका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।