अमेरिकाले रेड सीमा तैनाथ गरेको लडाकू विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता गर्ने तयारी गरेको छ।
इरानसँगको युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको जेराल्ड फोर्डलाई नजिकैको बन्दरगाहमा लैजाने तयारी भइरहेको भनेर अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
इरानसँग युद्धकै क्रममा यो युद्धपोतमा आगो लागेको थियो।
इरानी सञ्चारमाध्यमहरुले इरानी मिसाइल हमलाबाट युद्धपोतमा आगो लागेको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले भने प्राविधिक कारणले आगलागी भएको बताउँदै आएका छन्।
आगलागी जहाजको मुख्य लन्ड्री क्षेत्रमा फैलिएको थियो र यसलाई नियन्त्रणमा लिन धेरै घन्टा लागेको थियो।
घटनामा करिब २०० बढी नौसैनिकहरूलाई धुवाँको असरका कारण उपचार गर्न परेको थियो। आगलागीबाट करिब १०० भन्दा बढी बेडहरू क्षतिग्रस्त भएको बताइएको छ। एक नौसैनिकलाई सदस्यलाई घाइते अवस्थामा हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो।
आगलागीबाट युद्धपोतको मुख्य इन्जिनमा कुनै समस्या नभए पनि लामो समयदेखि समुद्रमै तैनाथ रहेका कारण चेकजाँच र विश्रामका लागि रेड सीबाट फिर्ता गरी बन्दरगाहमा लैजाने तयारी गरिएको हो।
यसअघि यही युद्धपोतमा पाइपलाइन तथा सरसफाइ प्रणालीसम्बन्धी समस्या देखिएको थियो।
जहाज गत जुनदेखि निरन्तर समुद्रमै तैनाथ रहेकाले निर्धारित मर्मतसम्भार समयसमेत ढिलाइ भएकाले पनि गडबडी देखिन थालेको वासिङ्टन पोस्टले लेखेको छ।
जेराल्ड फोर्ड अमेरिकी नौसेनाको सबैभन्दा नयाँ र अत्यधुनिक विमानबाहक युद्धपोत मानिन्छ।
तर लामो समयसम्म समुद्रमा तैनाथ रहँदा जहाजका विभिन्न प्रणालीमा दबाब पर्ने भएकाले यस्तो समस्या देखिने गरेको सैन्य विश्लेषकहरू बताउँछन्।
रोयटर्सका अनुसार उक्त युद्धपोतलाई ग्रीसको क्रेते टापुको सौदा बे बन्दरगाहमा लैजाने तयारी भइरहेको छ।
जेराल्ड फोर्डको उन्नत रडार प्रणाली र जहाजमा बस्ने हजारौं नौसैनिकहरूले हवाई यातायात, मिसाइल निगरानी, र समर्थन पोतहरूसँग समन्वय गर्दै युद्ध अभियानलाई प्रभावकारी बनाएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अन्य गाइडेड मिसाइल क्रुजर र विनाशक जहाजहरूसँग मिलेर यसले इरानी आन्तरिक सुरक्षा संरचनाहरूमा हवाई दबाब बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
यो युद्धपोत यही युद्धपोत भेनेजुएलामा अमेरिकाले सैन्य अपरेसन गर्दा पनि प्रयोग भएको थियो।
जहाजमा ५,००० भन्दा बढि नौसैनिक र ७५ भन्दा बढी लडाकू विमानहरू रहेको रोयटर्सले जनाएको छ।