राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीलाई तत्काल व्यापक पुनर्संरचनाको जरूरी रहेको टिप्पणी गरेका छन्।
राप्रपालाई राष्ट्रिय राजनीतिको विश्वासिलो र हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउन पुनर्संरचना आवश्यक रहेको उनको भनाइ छ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर-धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरूरी छ,’ आज सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्, ‘त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ।’
उनले पार्टीको विषय सार्वजनिक रूपमा लेख्दा आलोचना हुन सक्ने उल्लेख गर्दै पार्टीभित्रको प्रवृत्ति सुधारमा जोड दिएका छन्।
‘सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीब्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको पर्वाह नगरी मैले यो टिप्पणी लेखेको हुँ। मेरो आग्रह-रहित मिहिन मूल्याङ्कनमा राप्रपाको एजेण्डामा खास ठूलो समस्या छैन। समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ। समस्या पार्टीभित्रका बलशाली प्रवृतिहरूमा छ,’ उनले भनेका छन्, ‘समस्या समयको प्रवाह र आवश्यकतालाई नचिन्नु/नबुझ्नुमा छ। समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा छ।’
राप्रपा अहिलेकै शैली र सोचबाट अघि बढ्ने हो भने आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य तथा आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुने उनले उल्लेख गरेका छन्।
‘उपरोक्त विषयमा पार्टीमा तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ होस् भन्ने ध्येयले मैले यो टिप्पणी लेखेको हुँ। पार्टीका साथीहरू, सुभेच्छुकहरू र आलोचकहरूबाट प्रतिकृया अपेक्षा गर्छु,’ उनले भनेका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ ४ गरी कूल ५ सिट जितेको थियो। २०७९ को चुनावमा राप्रपाले १४ सिट जितेको थियो।