संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ।
नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते शपथग्रहण गराउने गरी तयारी थालेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार निर्वाचन आयोगले प्रतिवेदन पेस गरेपछि औपचारिक रूपमा शपथ ग्रहणको दिन तोकिने छ।
निर्वाचन आयोगले चैत ५ गतेसम्म प्रतिवेदन पेस गर्छौं भनेको छ,’ उनले भने, ‘त्यसपछि हामीले नवनिर्वाचित सांसदहरूको शपथ खुवाउने दिन तोक्छौं। अहिलेसम्मको तयारी चैत १२ गते शपथको दिन तोक्ने भन्ने छ।’
नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सांसदले शपथ खुवाउने छन्।
निर्वाचन आयोगले नै ज्येष्ठ सांसदको नाम राष्ट्रपति कार्यालय र संसद सचिवालयमा पठाउँछ। ज्येष्ठ सांसदले सुरूमा राष्ट्रपतिबाट शपथ लिन्छन्। त्यसपछि उनले अरू सांसदहरूलाई शपथ गराउँछन्।
यसपालिको संसदमा नेपाली कांग्रेसका ७८ वर्षीय सांसद अर्जुननरसिंह केसी सबैभन्दा ज्येष्ठ छन्।
शपथका लागि सिंहदरबारभित्रै निर्माणाधीन संसद भवनमा एउटा हल तयार पारिएको उनले जानकारी दिए।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनेजी आन्दोलनमा जलाएर ध्वस्त पारिएको थियो।
सिंहदरबारभित्र नयाँ संसद भवन निर्माणाधीन भए पनि नयाँ संसद बस्नका लागि अझै तयार भएको छैन। त्यसैले एउटा हल निकालेर अस्थायी रूपमा प्रयोग गर्न मिल्ने बनाइएको पाण्डेले बताए।
महासचिव पाण्डेले शपथग्रहण कार्यक्रमका बारेमा अनौपचारिक जानकारी दिने, बैठकको डेकोरम सम्झाउने लगायतका विषयबारे जानकारी दिन संसदमा आउने पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूको बैठक पनि बिहीबारका लागि डाकेको बताएका छन्।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो।