राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्।
ललितपुरको रोयल टुलिप होटलमा नवसांसदहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन बुधबार लामिछानेले भने, 'अहिलेसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने यकिन भएको छैन।'
'तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भन्दै धाउने र म फलानो मन्त्री भन्दै मिडिया ट्रायल गर्ने काम बन्द गरिदिनुहोला। अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क-कसलाई मन्त्रिपरिषदमा पठाउँछ भन्ने निर्णय आज उभिँदासम्म हामीले गरेका छैनौं,’ उनले भने।
उनले क्षमता अनुसार मन्त्रालय दिइने बताएका छन्।
'पार्टीले सही निर्णय गर्छ। कसैलाई तपाईंहरूले भन्नुपर्दैन। हामीलाई तपाईंको विज्ञता, क्षमता थाहा छ। कयौं साथीहरू देखिएको देखियै गर्नुहुन्छ, कयौं छेकिएको छेकियै गर्नुहुन्छ। पार्टीले छेकिएका साथीहरूलाई पनि हेरिरहेको छ,' उनले भने।