नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामाबारे पार्टी केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका थिए।
चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै थापाले राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए।
उनले बुझाएको राजीनामा पत्र सार्वजनिक भइसकेको छैन।
सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्नेबारे केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठक शुक्रबार बोलाइएको छ।
'सभापतिको राजीनामाबारे त्यही बैठकमा छलफल र निर्णय हुन्छ,' ती पदाधिकारीले भने।
भोलिको केन्द्रीय समिति बैठकमा थापा सहभागी हुने सम्भावना कम रहेको ती पदाधिकारीको भनाइ छ। थापा उपस्थित नरहेका खण्डमा उपसभापति शर्माले केन्द्रीय समिति बैठक सञ्चालन गर्नेछन्।
केन्द्रीय समितिले निर्वाचनको प्रारम्भिक समीक्षा पनि गर्नेछ।
कांग्रेसले उपसभापति शर्माको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको थियो। शर्माले निर्वाचनमा पार्टीका अधिकांश उम्मेदवारहरू पराजित हुनुका कारणबारे जानकारी दिने बताइएको छ।
कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीका तल्ला निकायहरू र उम्मेदवारहरूलाई पराजित हुनुपर्नाका कारण लिखित रूपमा पठाउन परिपत्र गरेका थिए।
सभापति थापा आफै फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सर्लाही-४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।
विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ।
चुनावमा अधिकांश उम्मेदवारहरू पराजित भएपछि सभापति थापाको आलोचना हुँदै राजीनामा माग भइरहेको थियो।