इसराइलले इरानको विशाल ग्यास भण्डारमा आक्रमण गरेको छ।
बुधबार साउथ पार्स ग्यास भण्डारमा इसराइलले आक्रमण भएको इरानी अधिकारीहरुले जनाएका छन्।
यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। जसको एक भाग इरान र अर्को भाग कतारमा पर्छ।
आक्रमणमा ग्यासका ट्यांकीहरू प्रशोधन उपकरणहरुमा क्षति पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इरानले इसराइलको यो कदमलाई खतरनाक र गैरजिम्मेवार भन्दै कडा प्रतिक्रिया जनाएको छ। कतारको विदेश मन्त्रालयले पनि इसराइलको आक्रमणप्रति असन्तुष्टि जनाएको छ। उसले यसलाई क्षेत्रीय स्थिरतामाथिको खतरा भनेको छ।
आक्रमणबारे इसराइलले औपचारिक रूपमा जिम्मा लिइसकेको छैन। इसराइली रक्षामन्त्री इसराइल कात्जले इरानमा आक्रमण जारी रहेको मात्रै भनेका छन्। उनले इरानी शीर्ष अधिकारीहरु लक्षित आक्रमण जारी रहने बताएका छन्।
ग्यास भन्डारमा आक्रमण भएपछि इरानले खाडी क्षेत्रका तेल तथा ग्यास पूर्वाधारहरूमा जबाफी कारबाही सुरू गरेको रोयटर्सले लेखेको छ। कतारको रास लफन औद्योगिक क्षेत्रमा मिसाइल प्रहार हुँदा ठूलो क्षति भएको कतारको ऊर्जा मन्त्रालयले जनाएको छ।
साउदी अरबले पनि आफ्नो राजधानीतिर आएका चारवटा ब्यालेस्टिक मिसाइल खसालेको जनाएको छ। साउदीकै पूर्वी क्षेत्रमा रहेको ग्यास संरचनालाई लक्ष्य गरी भएको ड्रोन हमलालाई पनि निस्तेज पारिएको जनाएको छ।
इसराइल-अमेरिकाको आक्रमणपछि इरानले साँघुरो समुद्रीमार्ग स्ट्रेट अफ हर्मुज बन्द जस्तै गरेको छ। इसराइल, अमेरिका र उसलाई समर्थन गर्ने देशहरूका जहाजलाई लक्ष्य गरी आक्रमण गरिरहेको छ।
उसले अमेरिका, इसराइल र उसका समर्थित बाहेकका देशहरूका जहाजमा आक्रमण नगर्ने बताएको छ। यद्यपि विश्वकै २० प्रतिशतभन्दा बढी ढुवानी हुने हर्मुज बन्दप्रायः अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्ध अब तेल र ग्यास भण्डार लक्षित हुन थालेपछि ऊर्जासंकट बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। हर्मुज बन्द हुँदै कच्चा तेलको मूल्य ५ प्रतिशत बढेर प्रतिब्यारोल १०८ डलर नाघेको छ।
युरोपेली संघकी विदेश नीति प्रमुख कजा क्यालसले इरानका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै होर्मुज मार्ग सुरक्षित राख्नु अत्यावश्यक रहेको र कूटनीतिक समाधान खोज्नुपर्ने बताएकी छन्।
यसबीच, युद्ध अन्य क्षेत्रमा पनि फैलिएको छ। लेबनानको बेरुतमा इजरायली हवाई आक्रमण तीव्र बनेको छ भने इरानले इसराइलतर्फ क्लस्टर मिसाइल प्रहार जारी राखेको छ। इसराइलमा कम्तीमा १५ जनाको ज्यान गएको बताइएको छ।