अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले इरानको ग्यास भण्डारमा फेरि आक्रमण नगर्ने बताएका छन्।
इसराइलले बुधबार साउथ पार्स ग्यास भण्डारमा आक्रमण गरेको थियो।
यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। त्यसको जबाफमा इरानले पनि कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो ग्यास निर्यात प्लान्टमा प्रहार गरेको थियो।
त्यसपछि पेट्रोलियम पदार्थका खानीमा थप आक्रमण रोक्न ट्रम्पले इसराइलले फेरि इरानको ग्यास भण्डारमा आक्रमण नगर्ने बताएका हुन्।
क्रुद्ध इसराइलले इरानी ग्यास भण्डारमा हिंसक रूपमा कडा प्रहार गरेको भन्दै अब त्यस्तो नहुने ट्रम्पले आश्वासन दिएका छन्।
इसराइलले इरानमा र इरानले कतारमा रहेका ग्यास संरचनामा हमला गरेपछि बिहिबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको थियो।
यस्तोमा तेलको मूल्य धेरै नबढोस् भनेर तनाव घटाउन ट्रम्पले त्यस्तो घोषणा गरेको मानिन्छ।
तर इरानले फेरि छिमेकी राष्ट्रका पेट्रोलियम पदार्थका संरचनामा प्रहार गरे इरानी ग्यास भण्डारमा भिषण हमला गरेर ध्वस्त बनाउने उनले चेतावनी दिएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)