अमेरिकी सेनाको एफ-३५ लडाकू विमानले आकस्मिक अवतरण गरेको छ।
इरानमा सैन्य कारबाहीमा परिचालित एफ-३५ स्टेल्थ लडाकू विमानले बिहीबार मध्यपूर्वको एउटा अमेरिकी सैन्य अड्डामा आकस्मिक अवतरण गरेको हो।
उक्त लडाकू विमानमा इरानी आक्रमण भएको आशंकापछि आकस्मिक अवतरण गराइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानमाथिको कारबाही क्रममा उडिरहेको बेला लडाकू विमान आपतकालीन अवतरण गर्न बाध्य भएको बताएका छन्।
उनले विमान सुरक्षित अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको बताएका छन्।
‘विमान सुरक्षित रूपमा अवतरण भएको छ र पाइलट स्थिर अवस्थामा छन्। घटनाबारे अनुसन्धान भइरहेको छ,’ हकिन्सले भने।
गत फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धमा इरानले अमेरिकी विमानमा प्रहार गरेको यो पहिलो घटना हुन सक्ने बताइएको छ। उक्त द्वन्द्वमा अमेरिका र इसराइल दुवैले एफ–३५ जेट प्रयोग गरिरहेका छन्।
यसको मूल्य १० करोड डलरभन्दा बढी पर्ने सिएनएनले जनाएको छ।
एफ-३५ लडाकू विमान स्टेल्थ विमान हो। यसमा अत्याधुनिक सेन्सर र हतियार प्रणाली हुन्छ। रडारबाट सजिलै नदेखिने भएका कारण यसले शत्रु क्षेत्रमा लुकेर प्रवेश गर्ने क्षमता राख्छ।
यसअघि पनि युद्धका क्रममा अमेरिका केही विमान गुमाइसकेको छ। तर तीमध्ये कुनै पनि शत्रुपक्षको आक्रमणबाट खसेको पुष्टि अमेरिकाले गरेको छैन।
युद्धको पहिलो सातामै अमेरिकी सेनाको तीन वटा एफ–१५ लडाकु विमान कुवेतमा खसेको थियो। त्यतिबेला कुवेती हवाई प्रतिरक्षा प्रणालीले नै भूलवश अमेरिकी लडाकू विमान खसालेको भनिएको थियो। विमान खस्दै गर्दा चालक दलका सदस्यहरू प्यारासुटमा बाहिर निस्केका थिए।
गत साता इराकको पश्चिमी क्षेत्रमा लडाकू विमानमा इन्धन भर्न परिचालिन केसी–१३५ दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको कारण स्पष्ट नभए पनि अमेरिकी सेनाले यो घटना शत्रुको आक्रमण वा आफ्नै पक्षबाट भएको फायर कुनै पनि कारणले नभएको बताएको थियो।
उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो।
युद्धको तेस्रो साता नजिकिँदै गर्दा आगामी अवस्थाबारे अझै अन्योल कायम छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ३१औँ मरीन एक्स्पिडिसनरी युनिट र ट्रिपोली एम्फिबियस रेडी समूहलाई क्षेत्रमा पठाइएको छ। यूएसएस ट्रिपोली हालै सिंगापुरतर्फ अघि बढिरहेको देखिएको थियो।
यद्यपि अमेरिकी उच्च अधिकारीहरूले इरान विरुद्धको अभियान सफलतापूर्वक अघि बढिरहेको दाबी गर्दै आएका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बिहीबार बिहान अमेरिका निर्णायक रूपमा जिततर्फ अघि बढिरहेको र इरानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको बताएका छन्।