नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावमा पार्टीका उम्मेदवारहरूलाई मतदान नगर्ने जिम्मेवार नेताहरूलाई कारबाही गर्ने भएको छ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मतदान गर्ने नेताहरूलाई कारबाही गर्ने बताएका हुन्।
'को-कोले भोट हालेनन्। केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, तपाईंका जनवर्गीय संगठनका केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घन्टीमा हाले? त्यो रिपोर्ट तपाईंहरुले दिनै पर्यो हामीलाई,' उनले भने।
त्यस्ता नेताहरूलाई कारबाही नगरे पार्टी बनाउन नसकिने प्रचण्डले बताएका थिए।
'तिनलाई कारबाही गर्नैपर्छ। नत्रभने पार्टी बनाउन सकिँदैन। त्यसकारण तिनिहरूलाई कारबाही गरिन्छ र सबैभन्दा पहिले केन्द्रीय सदस्यबाट सुरू गरिन्छ,' उनले भने।
संयोजक प्रचण्डले ५० प्रतिशत नेताले घन्टीमा भोट गयो भन्ने प्रारम्भिक रिपोर्ट प्राप्त भएको पनि बताए। त्यसबारे ठोस विवरण ल्याउन पनि उनले आग्रह गरे।
'ठोस ल्याउनुस् क-कसले हालेनन्, को-को घन्टी तिर गएको देखियो? तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं,' उनले भने, 'पार्टी पुनर्गठन त्यहीँबाट सुरू गर्ने हो। नयाँ पार्टी बनाउने काम पनि यहीँबाट सुरू गर्ने हो।'
पार्टीको तल्लो तहबाट आउने सुझाव र आलोचनालाई पार्टीको सचिवालयमा प्रस्तावको रूपमा लगिने र त्यहाँबाट छलफल र निर्णय हुने प्रचण्डले बताए।
'काम गर्ने र नगर्नेलाई सम्मान ढंगले हेर्ने जो भइराखेको छ त्यसको पनि अन्त्य हुनुपर्छ। अरू बेलामा पार्टीको भन्ने निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्न भएन। कमिटीहरू चुस्त द्रुस्त हुन पर्यो भन्ने नै सबैतिरको सुझाव छ,' उनले भने।
महासंघ अध्यक्ष जगत सिंखडाले संयोजक प्रचण्ड अहिलेसम्मकै निर्मम शैलीमा प्रस्तुत भएको बताए।
महासंघबाट अध्यक्ष सिंखडाले नै निर्वाचनमा पार्टीविरूद्धका उम्मेदवारहरूलाई मतदान गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने सुझाव संयोजक प्रचण्डसामु राखेका थिए।
पार्टीका कमिटीहरू पनि चुस्त बनाउनुपर्ने, महाविधेशन मिति चाँडै नै तोक्नुपर्ने लगायतका विषयमा महासंघले पार्टीको नेतृत्व तहसमक्ष सुझाव राखेको थियो।
'त्यही अनुसार संयोजकज्यू निर्मम ढंगले प्रस्तुत हुनुभएको हो। अन्यत्र मतदान गर्नेहरूलाई कारबाही गरी पार्टीलाई फेरि जरैदेखि बलियो बनाउँदै ल्याउनुपर्छ भन्ने उहाँको धारणा थियो,' सिंखडाले भने।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ।
जेनजी आन्दोलनपछि १८ भन्दा बढी दल र समूह मिलेर नेकपा गठन भएको थियो।
पार्टीको तल्लो तहबाट निर्वाचन समीक्षा सुरू भएको र त्यहाँबाट प्राप्त हुने रिपोर्टहरूका आधारमा केन्द्रमा थप छलफल हुने अध्यक्ष सिंखडाले जानकारी दिए।