फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्यो।
कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्।
कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र थप दुई महिला उम्मेदवारलाई पछार्दै ज्ञवाली निर्वाचित भएकी हुन्।
रास्वपाले सुदूरपश्चिममै एक जना महिला अर्थात् ज्ञवालीलाई मात्रै प्रत्यक्षतर्फको टिकट दिएको थियो।
ज्ञवालीले त्यो अवसर खेर जान दिइनन्।
यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७, तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ८,३९२, चौथो स्थान हासिल गरेका नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौंपानेले ४,४९५ मत प्राप्त गरेका थिए। त्यस्तै ढिकी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार फागुराम थारुले ३,३८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कँवरले २,९३७ र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले २,३५७ मत प्राप्त गरेका थिए।
चुनाव जितेपछि सांसदका रूपमा ज्ञवाली साह्रै खुसी छिन्।
‘देशभरका जनताले यसपालि परिवर्तन रोज्नु भएको छ,’ उनले भनिन्, ‘म प्रत्यक्षमा निर्वाचित हुँदा साह्रै खुसी छु।’
यसपालिको निर्वाचनपछि छोरीमा आएको परिवर्तन देखेर आफू सबैभन्दा खुसी भएको बताइन्।
‘बाह्र वर्षको छोरा काठमाडौंमा पढ्दै छ र छोरी भारतमा कम्प्युटर साइन्स पढ्दै छिन्। अब उनको ब्याचलर सकिँदै छ। पहिला छोरीले नेपाल फर्किन्न, उतैबाट विदेश जान्छु भन्थिन्। यसपालिको निर्वाचनपछि छोरीले अब मास्टर्स पढ्न नेपालमै आउँछु भन्न थालेकी छन्। सबैभन्दा खुसी म यसैमा छु।’
सांसद ज्ञवाली यसअघि नागरिक उन्मुक्ति पार्टीकी संस्थापक केन्द्रीय कोषाध्यक्ष थिइन्। नाउपा गठन हुनुभन्दा पहिला डिल्लीबजार कारागार (जेलमै) छँदा रेशम चौधरीले पार्टी गठन गर्ने छलफल चलाए। पछि बाहिर रहेका ज्ञवाली लगायतले नाउपा गठन गरेका थिए।
पार्टी गठनपछि पहिलो पटक २०७९ मंसिर ४ मा भएको संसदीय निर्वाचनमा नाउपाले पनि भाग लिएको थियो। त्यतिखेर ज्ञवालीको नाम समानुपातिकतर्फ १ नम्बरमा थियो। तर, नाउपा राष्ट्रिय पार्टी बन्न सकेन। नाउपामा लाग्नुभन्दा पहिला सांसद ज्ञवाली कुनै दल वा पार्टीमा आबद्ध थिइनन्। बरु उनी समाजसेवामा सक्रिय थिइन्।
संसँगै कृषि उपकरणहरूको जस्तै पावर टिलर, धान काट्ने मेसिन र ठूला ट्र्याक्टरहरूको व्यवसाय गर्थिन्। सांसद ज्ञवालीका ५२ वर्षीय श्रीमान दिनेश सुबेदी भने घरजग्गाको कारोबार गर्छन्।
नाउपा गठनपछि ज्ञवालीसहितको टोलीले मेची–महाकाली अभियान सञ्चालन गर्यो, जसको प्रमुख उद्देश्य भरखरै खुलेको पार्टीको संगठन विस्तार र प्रचारप्रसार गर्नु थियो। आफूले त्यतिबेला आम जनताले भोगेको दुःखपीडा नजिकबाट नियाल्ने मौका पाएको ज्ञवाली बताउँछिन्।
'त्यतिखेरै मलाई लागेको थियो – आम जनताले भोगेका समस्या समाधान गर्न नीति निर्माण तहमा पुग्नुपर्छ,' उनले भनिन्।
तर आफूले नाउपाको माध्यमबाट जनताको लागि काम गर्ने सोच्दा–सोच्दै उनको पार्टीभित्र श्रीमान–श्रीमती (रेशम चौधरी र रञ्जिता श्रेष्ठ) बीचको झगडा छताछुल्ल भयो। जनजी आन्दोलनपछि अध्यक्ष रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश नै गरिन्। श्रीमान–श्रीमती बीचको त्यो झगडाका कारण उत्पीडित क्लस्टरको नेतृत्व गर्ने आकांक्षासहित खुलेको नाउपा दुई चिरा भइसकेको थियो। त्यसपछि दाजु–भाउजु बीचको झगडामा आफूहरू पिल्सनु हुँदैन भन्ने आफूलाई लागेको ज्ञवाली बताउँछिन्।
त्यहीबीच काठमाडौंका तत्कालीन मेयर बालेन शाह रास्वपामा आए।
‘अब योभन्दा बढी साथ दिन सकिँदैन भन्ने निर्णयमा हामी केही संस्थापक साथीहरू पुग्यौं,’ उनले भनिन्, ‘त्यसपछि नाउपाकी संस्थापक कोषाध्यक्ष म सहित केही साथीहरू त्यसपछि रास्वपा प्रवेश गरेका थियौं।’
रास्वपा प्रवेश गरे पनि कोमल ज्ञवालीलाई प्रत्यक्षतर्फ चुनाव लड्छु वा चुनाव यसरी सजिलै जित्न सक्छु भन्ने लागेकै थिएन।
‘कैलाली द्वन्द्व भएको क्षेत्र हो,’ उनले भनिन्, ‘म चुनाव लड्छु र जित्छु भन्ने नसोचेकै विषय थियो। तर, पार्टीले तिमी नै उठ भनेको हुँदा म निर्वाचनमा होमिएकी थिएँ।’
सुदूरपश्चिममा कसरी जाने? भनेर छलफलका क्रममा उम्मेदवार खोजी गर्ने क्रममा पहाडी र थारु क्लस्टरलाई प्रतिनिधित्व गर्ने पात्रको खोजी गर्दा रास्वपाले कोमललाई रोजेको थियो।
कैलाली–१ बाट निर्वाचित सांसद कोमललाई आफ्नो क्षेत्रमा वर्षेनी बाढीपहिरोले किसानका खेतबारी बगरमा परिणत गर्ने गरेको तथा ठूलो जनधनको क्षति हुने समस्या उनलाई प्रमुख समस्या भन्ने लागेको छ।
दोस्रो समस्या सडकको समस्या छ भन्ने ज्ञवाली ठान्छिन्। 'सडक वा बाटो स्तरीय छैनन्। त्यसले गर्दा हुने दुर्घटना बढ्दो छ। धुवाँ–धुलोले आम मानिस आजित छन्,' उनले भनिन्।
तेस्रो समस्या टीकापुर अस्पताल पुरानै तरिकाले सञ्चालनमा छ भन्ने उनलाई लाग्छ।
'उपयुक्त स्रोतसाधन सम्पन्न अस्पतालका रूपमा त्यसलाई विकास गर्नुपर्छ भन्ने मनमा छ। इसिजी सेवा मात्रै भइदिए पनि हुन्थ्यो। मुटुको सानो समस्या आउँदा सर्वसाधारण कि बाँकेको नेपालगन्ज वा काठमाडौं जानुपर्ने बाध्यता छ। त्यो अन्त्य गर्ने मेरो चाहना छ,' उनले भनिन्।
सांसद ज्ञवालीलाई चौथो समस्या कृषि क्षेत्रमा छ भन्ने लाग्छ। किसानले समयमा रासायनिक मल नपाउने र उत्पादनले मूल्य नपाउने समस्या किसानलाई छ। आवश्यक नीति निर्माण गरी त्यो समस्या समाधान गर्ने चाहना उनको छ।
टीकापुर बजार क्षेत्र लगायत आसपासका बस्तीका युवा पुस्तामा डरलाग्दो गरी मौलाउँदै गएको लागु औषधको समस्या समाधान गर्ने भूमिका खेल्ने चाहना भएको पनि उनले बताइन्।
'यो समस्या समाधानका लागि नाका क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्ने र कुलतमा फस्दा हुने बेफाइदाका बारेमा सचेतना फैलाउन पाए हुन्थ्यो भन्ने लागेको छ,' सांसद ज्ञवालीले भनिन्।
निर्वाचनका दौरान घरदैलो गर्दा स्थानीय मतदाताले प्रमुखताका साथ बाढीको समस्या उठाएको हुँदा निर्वाचित भइसकेपछि सांसदका रूपमा उनी सबैभन्दा पहिला तटबन्ध सम्बन्धी काम गर्न चाहन्छिन्।
कर्णाली र कान्दा नदीका कारण वर्षामा बच्चा स्कुल गए घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने तनावमा आमाहरू हुन्छन्। बाढीले खेतबारी बगाएर खेतीमा ठूलो समस्या पार्दै आएको छ। बाढीबाट भजनीका दुई वटा वडा सबैभन्दा बढी प्रभावित हुने गर्छन्।
‘त्यो समस्या समाधान र जनताको जीवन सहज बनाउन म सबैभन्दा यही काम गर्न चाहन्छु,’ उनले भनिन्।
नीतिगत रूपमा संविधानमा धेरै राम्रा कुराहरू रहे पनि ती कुराहरू व्यवहारमा लागू हुन नसक्दा आम नागरिकले सास्ती भोग्नु परेको सांसद ज्ञवालीले बताइन्।
कानुन एकअर्कामा बाझिएर लागू हुन नसक्ने अवस्थाले गर्दा पनि आम जनताको काम हुन नसकेको उनको धारणा छ। आवश्यक ठाउँमा संविधान संशोधन गरेर भए पनि जनताको लागि सहज कानुन बनाउनुपर्छ,' उनले भनिन्।
मुलुकभरको अवस्था ध्यानमा राखेर भूमिहीनको समस्या समाधानका लागि नीति बनाउने अर्को काम पनि उनी छिट्टै होस् भन्ने चाहन्छिन्।
‘मेरो क्षेत्रमा पनि भूमिहीनको ठूलो समस्या छ,’ उनले भनिन्, ‘मुक्त कमैयाका परिवारले दुई दशक बितिसक्दा पनि सबैले जग्गाजमिन पाउन सकेका छैनन्। त्यसैले म पहिला संसदमा भूमिहीनको कुरा उठाउन चाहन्छु। किसान खुसी भए देश खुसी हुन्छ किनभने अन्न प्रशस्त भए कोही भोकै बस्नुपर्ने छैन।’
सांसद ज्ञवाली देशको परिस्थिति हेरेर मात्रै सांसदहरूलाई विकास निर्माण गर्न बजेट छुट्याउन उपयुक्त हुने ठान्छिन्।
‘देशको आर्थिक अवस्था जरजर छ। यस्तोमा बजेट कति छुट्याउन सक्छौं र प्रदेश सांसदलाई अहिलेको स्थितिमा विकास बजेट नछुट्याए पनि हुन्छ जस्तो लाग्छ,’ सांसद ज्ञवालीले भनिन्, ‘प्रदेश सांसदलाई छुट्याउने विकास बजेटले आवश्यकता अनुसार देशकै विकासका लागि लगाए पनि हुन्छ भन्ने लाग्छ।’
तर, उनले संघीय सांसदहरूका हकमा भने नैतिकतामा रहेर राम्रो काम गर्ने सांसदहरूलाई विकासे बजेट छुट्याउनु नराम्रो मान्न नहुने बताइन्।
‘यत्ति हो, उनीहरूले आफ्नो क्षेत्रमा के काम गर्दैछन् र कति काम गरे भनेर अनुगमन हुन जरुरी छ,’ उनले भनिन्, ‘यसअघि अनुगमन नहुँदा समस्या भएको हो। भ्रष्टाचार बढेको हो भन्ने हेक्का हुनुपर्छ।’
सांसद ज्ञवाली अघिल्लो पुस्ताका महिला सांसदले महिलाका लागि जति सके राम्रै काम गरेको भनेर सम्झिन्छिन्।
‘उहाँहरूलाई जज गर्ने कुरा आउँदैन। जति गर्नुभयो, राम्रै काम गर्नुभयो,’ उनले भनिन्।
सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथा कुनै न कुनै रूपमा कायमै छ। म त्यो क्षेत्रमा संविधान र कानुन बनाउँदा थप काम गर्न उनलाई मन छ।
त्यस्तै उनले सुदूरपश्चिम र तराईमा वर्षेनी सर्पदंशका कारण धेरै कामकाजी महिलाहरूले ज्यान गुमाउनु परेको भन्दै त्यससम्बन्धी कानुन बनाएरै काम गर्न चाहेको बताइन्। बालिका महिनावारी हुँदा स्कुलमा स्यानिटरी प्याड समेत नहुने अवस्था हटाउन पनि उनलाई मन छ।
सांसद ज्ञवालीलाई सहर बजारका भन्दा पनि गाउँघरका महिला बढी पीडित छन् भन्ने लाग्छ। शिक्षा, दीक्षा र स्रोतसाधनको कमी झेल्दै आएका पहाडका गाउँघरमा बस्ने महिला दिदीबहिनीका लागि काम गर्न चाहेको ज्ञवालीले बताइन्।
‘यी क्षेत्रमा यसअघिका महिला सांसदहरूले गर्दागर्दै गर्न नभ्याएको हुन सक्छ,’ उनले भनिन्, ‘हामीले बाँकी काम गर्छौँ।’