नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा एक जना केन्द्रीय सदस्यले फागुन २१ को चुनावमा भोट हाल्न नगएका नेताहरूलाई सम्मान गर्नुपर्ने प्रस्ताव राखे।
यस्तो प्रस्ताव राख्ने केन्द्रीय सदस्य हुन्- शम्भुबहादुर बुढाथोकी।
उनले चुनावमा पार्टीका कतिपय नेताहरूले असहयोग गरेको र भोट हाल्नसमेत नगएको पाइएकोले कारबाही हुनुपर्ने बताए।
यदि कारबाही नगर्ने हो भने सम्मान गरौं भन्ने उनको प्रस्ताव थियो।
‘कांग्रेसबाट वर्षौंदेखि फाइदा लिएका, सांसद र मन्त्री बनेकाहरू चुनावमा चुप बसे, भोट हाल्न पनि गएनन्, उनीहरूलाई कारबाही गरौं, होइन भने सम्मान गरौं,’ उनले केन्द्रीय समितिमा राखेका धारणाबारे जानकारी दिँदै अर्का एक केन्द्रीय सदस्यले भने।
केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र सभापतिबाट गगन थापाले दिएको राजीनामाबारे केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
फागुन २१ को चुनावमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।