नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।
आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ।
सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशंका जन्माएको महामन्त्री पौडेलको भनाइ छ।
‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन। यसले अनेक आशंका र उपशंका जन्माएको छ,’ पौडेलले भने।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोकेको हो भन्ने प्रश्न उनको छ।
'अब अन्तरिम सरकारको समय सकिन लागेको छ, जाने बेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ?,' उनले भने, 'आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो।'
महामन्त्री पौडेलले पार्टी केन्द्रीय समिति बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताए।