नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ जना प्रतिनिधि सभा सांसद छन्।
फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूको शपथ भइसकेको छैन।
संघीय संसद सचिवालयले चैत १३ गते सांसदहरूलाई शपथ खुवाउने तयारी गरेको छ।
महामन्त्री गुरूराज घिमिरेले सांसदहरूले शपथ लिएपछि मात्रै संसदीय दल नेता चयन प्रक्रिया सुरू गरिने जानकारी दिए।
अहिले संसदीय दल नेता कसलाई बनाउने भन्नेबारे छलफलसमेत भइनसकेको उनको भनाइ छ।
‘सांसदहरूको शपथ हुन्छ, त्यसपछि पार्टीले संसदीय दल बैठक राख्छ, संसदीय दल नेताबारे छलफल हुन्छ। आकांक्षीहरू धेरै देखिए उहाँहरूसँग संवाद हुन्छ, सर्वसम्मत नभए प्रतिस्पर्धा होला, अहिले यसबारे छलफल भइसकेको छैन,’ उनले भने।
संसदीय दल नेताका लागि युवादेखि ज्येष्ठ सदस्यहरूको नाम चर्चामा छ।
यसपालि संसदमा कांग्रेसकै ७८ वर्षीय अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन्। उनले राष्ट्रपतिबाट चैत ११ गते शपथ लिएर चैत १२ गते अरू सांसदहरूलाई शपथ खुवाउँदैछन्।
केसी पनि संसदीय दल नेताको उम्मेदवार हुने चर्चा कांग्रेसभित्र छ। पूर्वसहमहामन्त्री केसी समानुपातिक तर्फबाट सांसद बनेका हुन्।
चैत ६ गते केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका केसीलाई पत्रकारले अब संसदीय दल नेता बन्ने हो भन्ने प्रश्न गरेका थिए।
जबाफमा केसीले यो विषय आफूलाई थाहा नभएको र पार्टीमा छलफल हुने बताए। संसदीय दल नेतामा दाबी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा केसीले भने, ‘स्वत: दाबी रहन्छ, म सबैभन्दा सिनियर हुँ, संसदीय यात्रा र अभ्यासमा योगदान गरेको छु।’
विगतमा त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र पढाएका केसी अधिवक्तासमेत थिए। उनी २०४८ सालदेखि विभिन्न समयमा सांसद रहेका थिए भने स्वास्थ्य, भौतिक, शिक्षा र सहरी विकास मन्त्रीसमेत भएका थिए।
साथै पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि संसदीय दल नेता उम्मेदवार बन्ने चर्चा छ। उनलाई संसदीय दल नेता उम्मेदवार बनाउने विषयमा शेरबहादुर देउवा-पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षको तयारी रहेको नेताहरूको भनाइ छ। उनी पनि समानुपातिकतर्फबाट सांसद भएका हुन्।
आइतबार नेता पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा चुनावी समीक्षा, संसदीय दल नेता र १५ औं महाधिवेशन लगायत विषयमा नेताहरूबीच कुराकानी भएको थियो।
नेता मीनबहादुर विश्वकर्माका अनुसार २०७८ को १४ औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक बोलाएर यी सबै विषयमा छलफल गर्ने तयारी छ र नेता खड्कालाई बैठक बोलाउने जिम्मेवारी दिइएको छ।
पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। यसविरूद्ध देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ र कांग्रेसमा अब समानान्तर गतिविधि हुने देखिएको छ।
माथि चर्चा गरिएका केसी र आङ्देम्बे दुवै समानुपातिक तर्फबाट सांसद बनेका हुन्। प्रत्यक्षतर्फ आएका सांसदमध्येबाट संसदीय दल नेता चयन गरिनुपर्ने कतिपय सांसदहरूले धारणा राख्ने गरेका छन्।
रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई, बाजुराबाट चुनाव जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ लगायतको नाम पनि चर्चामा छ।
३४ वर्षीय निश्कलले पार्टीले संसदीय दल नेताको भूमिका दिए आफूले लिने कुरा सार्वजनिक रूपमै बताइरहेका छन्।
२०७९ को मंसिरमा प्रतिनिधि सभा निर्वाचन भएपछि संसदीय दल नेता चयन गर्न पुस ६ गते चुनाव भएको थियो।
तत्कालीन सभापति शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुँदा देउवा संसदीय दल नेता बनेका थिए। पछिल्ला निर्वाचन हेर्दा संसदीय दल नेता चयन गर्न कांग्रेसमा प्रतिस्पर्धा भएको देखिन्छ।
यसपालि विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशन स्वीकार नगर्ने पक्ष गरी दुई धारमा कांग्रेस छ। संस्थापन र संस्थापनइतर पक्षबीच संवाद भइसकेको छैन। दुवै पक्षबीच संवाद भएका खण्डमा संसदीय दल नेताका लागि सर्वसम्मत रूपमा नभए प्रतिस्पर्धा हुने पनि देखिन्छ।
आइतबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले अब पार्टी १५ औं महाधिवेशनकेन्द्रित हुने भनेको छ। त्यसका लागि दुवै पक्षबीच संवाद भएर केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने हुन्छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा रहेको र अब छिट्टै स्वदेश फर्किने भएकोले त्यसपछि मात्रै संस्थापनइतर पक्षले थप रणनीति तय गर्ने देखिएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ तत्कालीन सभापति शेरबहादुर देउवाले र प्रत्यक्षतर्फ विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले टिकटमा हस्ताक्षर गरेका थिए।
त्यसकारण पनि समानुपातिकतर्फ सांसद भएका २० जनामध्ये अधिकांश देउवा पक्षका छन् भने प्रत्यक्षतर्फ जितेका १८ मध्ये अधिकांश थापा पक्षका छन्।
‘पहिला देउवा वा शेखर कोइरालासँग निकट रहेकाहरू त्यहीँ रहनुहुन्न, पार्टीभित्र र बाहिर पनि परिस्थिति बदलिएको छ,‘ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘समानुपातिक र प्रत्यक्ष सबै सांसद सभापति गगन थापाजीसँग सम्पर्कमा हुनुहुन्छ, त्यसैले सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ।’
सांसदहरूले आफूमध्येबाट एक जनालाई संसदीय दल नेता चयन गर्ने हो।
संस्थापनइतरका एक नेताका अनुसार शेरबहादुर देउवा र शेखर कोइराला समूहबाट प्रत्यक्ष र समानुपातिक गरी २० जना सांसद छन्। उनीहरूका अनुसार संस्थापनका पक्षमा १८ जना बाँकी रहन्छन्।
तर संस्थापन पक्ष यो तथ्यांक मान्न तयार छैन।
‘प्रत्यक्षतर्फ चुनाव जितेका १८ मध्ये ३ जना मात्रै संस्थापनइतरका हुनुहुन्छ, समानुपातिकतर्फ पहिले अर्कै समूहबाट नाम परेकाहरू सभापति थापासँग सम्पर्कमा आउनुभएको अवस्था छ।’
संस्थापन पक्षले आफूहरूको पक्षमा अहिले कम्तीमा १९ जना सांसद उभिने र यो संख्या बढेर जाने दाबी गरेको छ।
‘पहिला-पहिलाजस्तो अवस्था छैन। पार्टीभित्रको परिस्थिति बदलिँदो छ, ध्रुवीकरण बढेर जान्छ,’ संस्थापन पक्षका ती पदाधिकारीले भने, ‘सांसदहरू पनि पहिला जस्तो यो समूह, त्यो समूह भनेर गुट बैठकमा जाने, खुल्ने गर्नुभएको छैन।’
सांसदहरूले शपथ लिएपछि पहिलो बैठक बस्नुअघिसम्म पार्टीले संसदीय दल नेता चयन गरिसक्ने पनि ती पदाधिकारीले बताए।
‘चुनावी पराजयको जिम्मेवारी लिँदै सभापतिज्यूले दिनुभएको राजीनामा आइतबारको केन्द्रीय समितिले अस्वीकृत गरेको छ, सभापतिजी राजीनामा दिएर उपत्यका बाहिर जानुभएकोमा फर्किसक्नुभएको छ, अब उहाँ पूर्ण रूपमा क्रियाशील रहेर संसदीय दल नेताका विषयमा आकांक्षीहरू र सांसदहरूसँग छलफल गर्नुहोला,’ ती पदाधिकारीले भने।
कांग्रेस केन्द्रीय समितिबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो। तर सभापति थापा सर्लाही ४ मा पराजित भएका थिए भने चुनाव उठेका सबै पदाधिकारी पराजित भएपछि संसदीय दल नेता को बन्छ भन्ने चासो देखिएको हो।