नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने भन्दै छुट्टै सुझाव माग गरेका छन्।
एमाले जस्तो लोकप्रिय, बलियो जनाधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो, यसको समीक्षा हुनुपर्ने भन्दै उनले मातहतका कमिटीबाट समीक्षा, सुझाव माग गरेका हुन्।
‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ। नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो। यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ,’ उनले भनेका छन्।
समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्ने उनको भनाइ छ।
फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाइ छ।
‘समीक्षामार्फत् जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ। यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु। निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान? र किन? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण? एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित। अनि रूपान्तरणको विधि र प्रक्रिया बारेम। एमालेका सबल र कमजोर पक्ष अनि एमालेको सम्भावना,’ उनले सुझाव माग गर्दै भनेका छन्।