निर्धारित समयको शपथ छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबिन महतोले जेष्ठ सदस्य अर्जुननरसिंह केसीसँग छुट्टै शपथ लिएका छन्।
उनले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको ज्येष्ठ सदस्यको कार्यकक्षमा शपथ लिएका हुन्।
उनले भोजपुरी भाषामा शपथ लिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकरी दिए।
सचिवालय स्रोतका अनुसार शपथका लागि हिँड्नुअघि आफ्ना सिलाइएको कपडा फिट नभएपछि उनी कपडाको साइज मिलाउन लागेका थिए।
कपडा लगाएर ट्याक्सीमा सिंहदरबार आउँदा आउँदै उनको निर्धारित समयको शपथ छुटेको थियो।
संघीय संसद सचिवालयले दिउँसो २ बजेका लागि सपथ ग्रहण आयोजना गरेको थियो। केही समय ढिलागरी शपथ सुरूवात भएको भए पनि उनी सहभागी हुन भ्याएनन्।
लगत्तै संसद सचिवालयमा ज्येष्ठ सदस्य केसीले उनलाई छुट्टै शपथ गराएका हुन्।
सचिवालयका अनुसार झण्डै १८ वटा भाषामा सांसदहरूले शपथ लिएका छन्।
संस्कृत भाषामा २ जनाले लिएका छन्। सबैभन्दा धेरै मैथिली, भोजपुरी, नेवारी भाषामा सांसदहरूले शपथ लिएका छन्।