बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ मत ल्याएका थिए।
उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन्।
पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय उनले विधावारिधी (पिएचडी) गरेका छन्। उनले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट पिएचडी गरेका हुन्। उनले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका थिए।
त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट उनले अंग्रेजीमा पनि स्नातकोत्तर गरेका छन्।
तीन वर्षदेखि उनले त्रिविअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा सशस्त्र प्रहरी अधिकृतहरूको लागि पोस्ट ग्र्याजुएट डिप्लोमा अन्तर्गत सुरक्षा व्यवस्थापन अध्यापन गराउँथे।
उनले पछिल्लो समय त्रिविको मानविकी संकाय अन्तर्गत नीति, सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि अध्यापन गराउँथे।
एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको उनको अनुभव छ। उनले नेपालमा अपांगता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी प्रोजेक्टमा प्रमुख अनुसन्धानकर्ता/लेखकका रूपमा काम गरेका थिए।
उनले सञ्चारकर्मीका रूपमा पनि काम गरिसकेका छन्। उनले रेडियो सगरमाथामा सञ्चारकर्मीका रूपमा काम गरेका थिए।