काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री बनेका छन्।
उनी कांग्रेस-एमालेका हेभीवेट उम्मेदवारहरूलाई पराजित गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन्। उनले काठमाडौं-५ मा उम्मेदवार रहेका कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई पराजित गरेका थिए।
रास्वपामा बालेन शाह जाँदा उनी केन्द्रीय सदस्य भएका थिए।
कानुन तथा नीति निर्माणमा विशेष चासो राख्ने २९ वर्षीय सस्मितले काठमाडौं विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापनमा स्नातक गरेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर गरिरहेका छन्।
उनी १८ वर्ष उमेरमा उज्ज्वल थापा नेतृत्वको विवेकशील अभियानसँग जोडिएका थिए।
'म पहिलेदेखि नै राजनीतिक दल र नेताहरूलाई फलो गर्थेँ। उनीहरूबारे सैद्धान्तिक कुरा धेरै हुन्थ्यो। अरू पार्टीका पनि कैयन नेता मलाई राम्रै लाग्थ्यो। विवेकशीलले भने मूल्य–मान्यता, पारदर्शिता र उत्कृष्ट पद्धतिको कुरा गरेको पाएँ। मलाई त्यो राम्रो लाग्यो,' सस्मितले भनेका थिए, 'त्यतिखेर उज्ज्वल दाइले नै हो, एकदमै प्रेरणा दिएको।'
२०७४ सालको स्थानीय चुनावमा रञ्जु दर्शना विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी थिइन्। सस्मितले रञ्जुको चुनावी प्रचार टोलीमा संलग्न भएर काम गरेका थिए।
स्थानीय चुनावपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग विवेकशीलको एकता भयो। त्यति बेला सस्मित केन्द्रीय सदस्य भए। त्यसै वर्ष भएको संसदीय निर्वाचनमा उनले थापा र मिश्र दुवैको चुनावी अभियान टिममा बसेर काम गरे।
२०७६ सालमा कोभिड महामारीमा परेर उज्ज्वल थापाको निधन भएपछि विवेकशील साझा पार्टीभित्र आन्तरिक समस्या सुरू भयो। त्यसैबीच रवीन्द्र मिश्र राजनीतिक मार्ग परिवर्तन गरेर राप्रपामा गए। विवेकशील छुट्टै दल बन्यो। सस्मित भने यी दुवैतिर लागेनन्।
उनले २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन शाहलाई सघाए। उनको घोषणापत्र लेखनदेखि चुनावी अभियानमा समेत काम गरे।
त्यसपछिको संसदीय चुनावमा सस्मितले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिए। त्यतिखेर उनले १०५२ मत पाएका थिए।
प्रदेशसभाको चुनावपछि उनले काठमाडौं महानगरपालिकामा बालेनको टिममा सहरी योजनासम्बन्धी सहायक विज्ञका रूपमा काम गरे।
महानगरमा हुँदा उनले शिक्षासम्बन्धी नीति निर्माणमा पनि काम गरेका थिए। काठमाडौं महानगरले दिँदै आएको छात्रवृत्ति कार्यक्रममा पनि उनी लगायतको टिमले नै काम गरेको थियो।
उनले केही समयअघि सेतोपाटीसँग कुरा गर्दा शिक्षाको गुणस्तर सुधार गर्ने पहिलो प्राथमिकता रहेको बताएका थिए।